काठमाडौंबाट भारतीय विमान अपहरण भएको त्यो दिन

आइसी–८१४ नम्बरको विमान चालक दलका ११ सदस्य र १८९

घडीमा चार बज्न लागेको थियो । इन्डियन एयरलाइन्सको आइसी–८१४ नम्बरको विमान चालक दलका ११ सदस्य र १८९ यात्रु बोकेर काठमाडौँबाट दिल्ली उड्छ । तर विमान दिल्ली पुग्दैन ।

सामान्यतया काठमाडौंबाट उडेको विमान १ देखि २ घण्टा १५ मिनेटको समयमा दिल्लीमा अवतरण भइसक्छ । तर, इन्डियन एयरलाइन्सको त्यो विमान उडेको आधा घन्टामा नेपाली आकाशमै अपहरण भयो । विमानमा रहेका पाँच सशस्त्र अपहरणकारीले चालक दललाई नियन्त्रणमा लिएर विमान अपहरण गरेका थिए ।

भारतीय जेलमा रहेका हर्कत उल मुजाहिद्दिनमा आबद्ध रहेर स्वतन्त्र काश्मिरी अभियानका प्रभावशाली नेता मौलाना मोहम्मद महसुद अजहरसहितका ३५ नेताको रिहाइका लागि सशस्त्र अपहरणकारीले नेपाली आकाशमै भारतीय विमान अपरहरण गरेका थिए ।

नेपाली आकाशमा अपहरण गरिएको विमानमा इन्धन भर्ने र भारत सरकारलाई आफ्ना माग पूरा गर्न दबाब दिन अपहरणकारीले भारतीय विमानस्थल प्रयोग गर्ने योजना बनाएका थिए । योजनाअनुसार उनीहरूले भारतको लखनउमा विमान अवतरण प्रयास गरे, तर अनुमति मिलने ।

पाकिस्तानको लाहोरमा अवतरण प्रयास पनि विफल भयो । पाकिस्तानमा विमान अवतरण हुँदा पाकिस्तानी सरकार अपहरण आरोपमा जाकिन सक्थ्यो । साना–साना विषयमा पनि बल्झिरहने भारतसँगको सम्बन्धमा थप चिसोपन थपिन सक्ने भन्दै  पाकिस्तान सरकारले अपहरित विमान आफ्नो देशभित्र अवतरण गर्ने अनुमति दिएन ।

विमानमा इन्धन सकिँदै थियो, कतै अवतरण गर्नु वा दुर्घटित हुनुको विकल्प थिएन । अवतरण नभए १८९ यात्रुको जीवन समाप्त हुने निश्चित थियो ।

आफ्नै भू–भागमा विमान ओराल्न दिन आखिर भारत नै राजी भयो । भारतको अमृतसरमा विमान अवतरण भयो । विमानमा इन्धन भर्ने र अर्को देश जाने अपहरणकारीको योजना थियो । माग पूरा नगरे यात्रुको हत्या गर्ने धम्की पछि भारत सरकार इन्धन भरिदिन राजी पनि भयो । तर, प्राविधिक समस्या भन्दै विमानलाई इन्धन ट्याङ्करनजिक लैजानुपर्ने  भारतीय पक्षले माग गरे पछि भारतले आफूविरुद्ध सैन्य अप्रेसन तयारी गरेको आशङ्कामा अपहरणकारीले भारतीय यात्रु रूपेन कट्याललाई छुरी धसेर मारिदिए । अनि जति इन्धन छ, त्यसैको भरमा विमान उडाएर लाहोर लैजान चालक दललाई अह्राए ।

अपहरणकारी कुनै हालतमा विमान उडाउने तयारीमा रहेको सूचना प्राप्त भएपछि भारत सरकारले नै पाकिस्तानी सरकारलाई लाहोरमा विमान अवतरणको अनुमति दिन आग्रह गर्यो । भारतको आग्रह स्वीकार गर्दै थोरै समय विमान अवतरण गर्ने अनुमति दिन पाकिस्तान राजी भयो । विमान अमृतसरबाट लाहोर पुग्यो ।

उनीहरूको गन्तव्य अफगानिस्तान थियो । लाहोरमा इन्धन भरेर विमान अफगानी सहर कान्दाहारतिर हान्नियो । तर, कान्दाहारमा बेलुका विमान अवतरण सम्भव भएन । उनीहरूले फेरि रुट परिर्वतन गरेर विमान संयुक्त अरब इमिरेट्स पुर्याए ।

युएई विमानस्थलमा अपहरणकारीले खाना, औषधीलगायत सामग्री माग गरे । युएई सरकारले विमानमा रहेका महिला, बालबालिका र वृद्धलाई छाड्नुपर्ने सर्त राख्यो । २५ यात्रु र हत्या गरिएका कट्यालको शव बुझाएपछि अपहरणकारीको माग पूरा भयो ।

भोलिपल्ट विमान अफगानिस्तानको कान्दाहार विमानस्थल पुग्यो । त्यसपछि भारत सरकारसँग अपहरणकारीको मोलमोलाइ सुरु भयो । विमान र यात्रुको बदलामा भारतीय जेलमा रहेका मौलाना मोहम्मद महसुद अजहरसहितका आफ्ना ३५ नेताको रिहाइ गर्नुपर्ने उनीहरूले माग राखे । वार्ता शुरु भयो ।

वार्ता सुरु भएको ६ दिनमा बल्ल भारत मौलाना अजहरसहित तीन बन्दी छाड्न राजी भयो । अपहरणकारी पनि विमान र यात्रु मुक्त गर्न सहमत भए । त्यसपछि पुस १६ गते (३१ डिसेम्बर) मा अपहरित यात्रुसहित विमान अपहरणमुक्त भयो ।

अपहरणमा अहमद ए. सेख, सन्नी अहमद काजी, सइद अख्तर सैयद, मिस्त्री जाहुर इब्राहिम र राजेशगोपाल बर्माको संलग्नता खुल्यो ।

त्रिभुवन विमानस्थलमा खरिद गरेको टिकटमा राष्ट्रियता भारतीय उल्लेख गरे पनि अपहरणकारी दुई जना पाकिस्तानी र तीनजना काश्मिरी थिए । मौलानाका भाइ इब्राहिम अख्तरको योजनामा विमान अपहरण भएको थियो । र, अपहरणमा उनी पनि संलग्न थिए ।

आइत, पुस ९, २०७४ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस