अमेरिकी गुप्तचर विभागका निर्देशकले उत्तर कोरियाली नेता किमलाई भेटेको खुलासा, ट्रम्प–उन वार्ता जुनमा

वासिंगटन– केन्द्रिय गुप्तचर विभाग(सिआइए)का निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनसँग गाेप्य भेटवार्ता गरेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार गत इस्टर(इसाईहरुको एक पर्व, जो यसपटक अप्रिल ८ मा परेको थियो।)को बिदामा निर्देशक पोम्पेओले प्योङयाङ पुगेर नेता उनसँग गोप्य भेटवार्ता गरेका थिए।

भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता उनबीच हुने भनिएको वार्ताको तयारीका सम्बन्धमा छलफल भएको वासिंगटन पोष्ट र रोयटर्स समाचार एजेन्सीले लेखेका छन्। वासिंगटन पोष्टका अनुसार २ नेताका बीच हुने भनिएको भेटवार्ताको स्थलका बारेमा समेत भेटमा छलफल भएको एक अमेरिकी उच्च अधिकारीले बताए।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग उच्चस्तरमा कुराकानी भएको जनाउ दिएका थिए। उनले सोहि विषयलाई लिएर फ्लोरिडास्थित आफ्नै रिसोर्टमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि भेटवार्ता गरेका छन्। ‘हामीबीचमा प्रत्यक्ष रुपमा उच्चस्तरको कुराकानी भएको छ।,’ ट्रम्पले भने, ‘उत्तर कोरियाली नेतासँगको भेटका लागि सम्भावित ५ स्थानहरु हामीले सुझाएका छौँ।’

उनले सन् १९५० देखि १९५३ सम्म चलेको युद्ध र तत्कालिन शान्ति सम्झौतापछि दुबै कोरियाबीच हुन लागेको उच्च तहको बैठकका लागि पनि शुभकामना दिएका छन्।

निर्देशक पोम्पेओ अमेरिकी राष्ट्रपतिको विशेष दुतको रुपमा प्योङयाङ पुगेका थिए। ‘पोम्पेओ विशेष दुतमा नियुत्ति भए लगत्तै सो भेटघाट हुने निश्चित भइसकेको थियो।’, २ जना विश्वस्त स्रोतलाई उदृत गर्दै वासिंगटन पोष्टले खुलासा गरेको छ। रोयटर्स समाचार एजेन्सीले पनि अमेरिकी उच्च अधिकारीसँग कुराकानी गर्दै सो सामाचारलाई पुष्टि गरेको थियो।

समाचारमा जनाइए अनुसार जुनको सुरुवातमै वा केहि समयअघि दुबै शिर्ष नेताको भेट हुनेछ। भेटघाटका लागि ५ स्थलहरु उत्तर कोरिया र दक्षिण कोरियाको संयुक्त सैन्यसीमा क्षेत्र, बेइजिङ, अर्को कुनै एशियाली राष्ट्र, युरोप र कुनै सागरमा गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ। तर अमेरिकामा भने भेट नहुने पक्का भएकाे छ।

बुध, बैशाख ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस