त्रिभुवन विमानस्थलबाट समातियो ६० तोला सुन, भन्सारका कर्मचारीले पत्तो पाएनन् !

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० तोला बढी सुन बरामद भएको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ । भारतीय नागरिकलाई भन्सार चेकजाँचपछिको स्थानबाट पक्राउ गरिएको हो । भन्सारका कर्मचारीले यत्रि ठूलो मात्रामा ल्याएको सुनको बारेमा केही थाहा पाएनन् । प्रहरी प्रमुख चन्दका अनुसार बरामद भएको सुनको तौल ६ सय ९९ ग्राम रहेको छ ।

आजको बजार मूल्य अनुसार बरामद सुनको मूल्य ३५ लाख ५३ हजार पर्छ । प्रहरी प्रमुख चन्दका अनुसार सबै सुन जुत्तामा लुकाएको अवस्थामा बरामद भएको हो । भन्सार छलिसकेको अवस्थामा सुन बरामद भएकाले यसमाथि गम्भीर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

 

बिहि, बैशाख ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस