नेपाल एयरलाइन्सको नयाँ जहाज आउदै, अब जापान र कोरियाको सिधा उडान भर्ने

नेपाल एयरलाइन्सले अर्डर गरेको एयरबस३३०–२०० वाइडबडी जहाज तयार भएको छ। फ्रान्समा रहेको एयरबसको फ्याक्ट्रीमा एसेम्बल सकिएकाे र जुन २७ मा काठमाडौं आइपुग्ने भएको छ।

केही समयअगाडि फ्रान्स पुगेर फर्किएको नेपाल एयरलाइन्सको टोलीले दिएको जानकारीअनुसार दोस्रो जहाजको एसेम्बल भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।

एसेम्बल सकिएको जहाज असारको १५ गतेभित्र काठमाडौं आउने भ्रमण टोलीले जानकारी दिएपनि नेपाल एयरलाइन्सले डेलीभरी पत्र भने पाएको छैन।

असार १५ पहिले पहिलो जहाज आएपछि साउन १५ भित्र अर्को जहाज आउने श्रेष्ठले बताए।

रोल्सरोयस ट्रेन्ट७०० इन्जिन जडान हुने जहाजमा २७४ सिट हुनेछन् । २५६ इकनोमी क्लास हुने जहाजमा १८ बिजनेस क्लास रहनेछन्।
२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेशनसँग खरिद सम्झौता गरेको थियो। ०७३ कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो।

एयरलाइन्सले यसअघि १० अर्ब रुपैयाँ पठाइसकेको छ भने बाँकी रकम जहाज आउनुभन्दा एक हप्ता अगाडिमात्र पठाउने एयरलाइन्सले जानकारी दिएको छ।

जहाज आएपछि एयरलाइन्सले जापानको ओसाका, दक्षिण कोरियाको इन्चोन र साउदी अरबको रियादमा उडान गर्ने जनाएको छ।

उडानका लागि लिनुपर्ने अनुमति पाएको र त्यहाँ जिएसए नियुक्तीको काम भइरहेको एयरलाइन्सका कर्पोरेट डाइरेक्टरसमेत रहेका श्रेष्ठले बताए।

बिहि, बैशाख २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस