संसदमा बाबुरामले भने एउटै गोलीले सबै चरा मार्छु भन्दा नमर्न नि सक्छ !

सरकारका नीति र उद्देश्य राम्रा प्राथमिकता अस्पष्ट

काठमाडौँ,पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारकोे नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तीको सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा भट्टराईले सरकारको नीति तथा कार्यक्रममा अत्यन्तै राम्रा सपनाहरु देखाईएको भएपनि ५ वर्षमा आय दोब्बर, कृषि उत्पादनलाई दोब्बर, ५ वर्ष पछि वैदेशिक रोजगारीमा जानुनपर्नेलगायत विद्युत, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सरकारले लिएको लक्ष्य पूरा हुने सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभएको हो ।

एउटै गोलीले सबै चरा मार्छु भन्दा कुनै पनि चरा नमर्ने अवस्था आउन सक्ने भन्दै उहाँले लक्ष्य प्राप्तीको समय तालिका र आधार स्पष्ट पार्न सुझाव दिनुभयो ।

कार्यक्रमहरु सुन्दर आए पनि कसरी प्राप्त गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण र योजना नरहेको भन्दै उहाँले प्रत्येक वर्ष के–के गर्छाैँ भनेर स्पष्ट रुपमा आउनुपर्ने उहाँको भनाई छ । भौगोलिक परिवेश, पूर्वाधार र आवश्यकताका आधारमा केही विशेष वर्ग र स्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । नीति तथा कार्यक्रममा संघीय सरकारलाई आत्मसात नगरिएको र एउटै मात्र सरकार छ है भन्ने संकेत गरिएको भन्दै उहाँले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनमा संसदको मर्यादा कायम गर्न नसकिएको पनि बताउनुभयो । लोकतन्त्रमा प्रतिनिधिसभा नै सबैभन्दा माथि हुने भन्दै त्यसको मर्यादालाई सरकारले विचार पुर्याउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिको सम्बोधन व्यक्तिगत नभई सरकारको भएकाले संसदको सर्वोच्चता र मर्यादामा विचार पुर्याउन सरकारलाई सुझाव दिनुभयो ।

 

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस