प्रचण्डले ६ जनाको नाम नदिएपछि….

स्थायी कमिटी अपूर्ण भएको छ

काठमाण्डौ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटिलाइ पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्डले पूर्व नेकपा माओवादी केन्द्रका तर्फबाट छान्नुपर्ने ६ जनाको नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी अपूर्ण भएको हो ।

प्रचण्ड तत्कालीन माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीमा समावेश गर्नुपर्ने १९ जनामध्ये १३ जनाको टुङ्गो लागे पनि ६ जनामा कसलाई समेट्ने भन्नेमा अन्यौल छन् ।

पूर्वमाओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल हाइकमाण्ड सदस्य छन् । त्यस्तै टोपवहादुर रायमाझी, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिवोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, अग्नि सापकोटा, मात्रिका यादव विगतको वरिष्ठताका आधारमा स्थायी कमिटीमा पर्ने निश्चित छ ।

बाँकी ६ जनामा पर्न करीब एक दर्जन नेताहरुको प्रतिस्पर्धा छ । अमिक शेरचन स्थायी आमन्त्रित सदस्य हुने भएका छन् । बाँकी ६ जनाभित्र पर्न लिलामणि पोखरेल, मणि थापा, देवेन्द्र पौडेल, चन्द्रप्रसाद खनाल, कुलप्रसाद केसी, राम कार्की, हितमान शाक्य, तिलक परियार, लेखराज भट्ट, रामचन्द्र झालगायतका नेताहरुको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।

४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेबाट रहने २६ जनाको टुंगो लागिसकेको छ । तत्कालीन एमालेबाट स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल स्वतः परेका छन् । उनीहरु हाईकमाण्डमा पनि छन् ।

त्यस्तै, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेकपाको स्थायी कमिटीमा परेका छन् । सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल स्वतः स्थायी कमिटी सदस्य भएका छन् ।

थपिएका चारजनामा रघुजि पन्त, विष्णु रिमाल, वेदुराम भुसाल र रघुवीर महासेठ छन् । यसअघि स्थायी कमिटीमा पदेन सदस्य रहेका अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल र सोमनाथ प्यासी नेकपामा स्थायी आमन्त्रित सदस्य हुने भएका छन् ।

 

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस