नबगठित नेकपा माथि ठुलो आपत, यसरी गुम्न सक्छन पाएका ७ उपसभामुख पद !

संवैधानिक व्यवस्था अनुसार सर्वोच्चको फैसला आए केन्द्र र प्रदेशसभामा गरि आठ उपसभामुख नेकपाले छोड्नु पर्ने छ

काठमाडौं, जेठ १२ । प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक–फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए ।

रिट निवेदनमा अधिवक्ता खरेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मात्र अहिले प्रतिनिधि सभा र ६ ओटा प्रदेश सभामा सभामुख र उपसभामुख भएको र त्यो संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग–अलग पार्टीको हुनुपर्ने माग राखेका हुन् ।

खरेलले दायर गरिएको रिटमा प्रतिनिधि सभा र कर्णाली प्रदेशसहित १, ३, ४, ५ र ७ नं प्रदेशमा फरक–फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग गरिएको छ ।

नेपालको संविधानको धारा, ९१ को उपधारा ९२० को ९१०मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ ।

यस्तै नेपालको संविधानको धारा, १८२ को उपधारा (२) को (१) मा प्रदेश सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । रिट निवेदनमा फरक–फरक लिङ्गको सभामुख र उपसभामुख हुनुपर्नेसमेत माग गरिएको छ ।

संवैधानिक व्यवस्था अनुसार सर्वोच्चको फैसला आए केन्द्र र प्रदेशसभामा गरि आठ उपसभामुख नेकपाले छोड्नु पर्ने छ । अहिले केन्द्रसहित ६ वटै प्रदेशसभामा नेकपाका सभामुख र उपसभामुख रहेका छन् । भने प्रदेश नम्बर दुईमा मधेसी दलबबाट ।

पक्षमा फैसला आए नेपाली कांग्रेसलाई भने चिठ्ठा पर्ने छ । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले उपसभामुख पाउने छ । यसअघि पनि कांग्रेसले केन्द्रमा उपसभामुख पाउनु पर्ने तर्क गरेको थियो तर त्यतिबेला दुई पार्टीबीच एकता नभएकाले सहमतिमा तत्कालीन माओवादी केन्द्र र एमालेले दिएका थिए ।

 

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस