ओली सरकारको बजेट प्रति काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष, संसदमा कडारुपमा प्रस्तुत हुन देउवाको निर्देशन !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको आगामी बजेटले राष्ट्रहित र समृद्धिको पाटोमा कुनै प्रगति नगर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार दिउँसो विज्ञसहित बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट राष्ट्रहितमा नभएको निष्कर्ष निकालेको हो ।

संसदीय दलका सदस्य र विज्ञहरुको बजेटबारेको धारणापछि संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सदस्यहरुलाई संसदमा सरकारको बजेटका विषयमा विरोध जनाउन रुलिङ गरेका छन् ।

‘‘संसदीय दलका सदस्य र विज्ञहरुको धारणापछि सभापतिज्यूले हामीलाई संसदमा विरोधका लागि विरोध नभएर विश्लेष्णात्मक ढंगले प्रस्तुत हुन रुलिङ गर्नुभएको छ,’’ बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले भने ।सरकारले आगामी आर्थिक वर्षका लागि संघीयतालाई पाखा लगाएर एकात्मक राज्यसत्ता प्रणालीअनुरुप केन्द्रीकृत ढंगले बजेट ल्याएको कांग्रेसको ठहर छ । बजेटमा उल्लेख गरिएका योजनाहरु पार्टी सदस्यहरुले कार्यान्वयन गर्ने ढंगले प्रस्तुत गरिएकाले बजेटबाट जनता लाभान्वित हुन नसक्ने पनि कांग्रेसले दाबी गरेको छ ।

प्रतिपक्षी कांग्रेसले बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता नदिइएको र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई सम्बोधन नगरेको प्रति पनि आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलको बैठकमा सहभागी अर्थविज्ञ डा गोविन्द पोखरेलले सरकारले बजेटमार्फत् निजी क्षेत्रलाई उत्साह जगाउने काम गर्न नसकेको प्रतिक्रिया दिए ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटले जनतालाई ऋणको भार बढाउने काम गरेको भन्दै बजेटमा भएका गलत कुराहरुको संसदमा विरोध गरिने बताए । बैठकमा डा. गोविन्द पोखरेल, डा. पोषराज पाण्डेय, डा. जगदीश पोखरेल, डा. विश्व पौडेल, प्रभु बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

 

 

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस