बजेटलाई हावादारी भनेका देउवालाई प्रधानमन्त्री ओलीले दिए उस्तै जबाफ !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले देउवाप्रति लक्षित गर्दै केही भन्ने ठाउँ नभएपछि बजेटलाई ‘हावादारी’ भनिएको दावी गर्नुभयो । बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ भएको भन्दै देउवाप्रति व्यंग समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि सुशासन र समृद्धिको अभियानमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले वैचारिक भिन्नता देखाउने तर भ्रष्टाचारको मामलामा उस्तै देखिने राजनीतिक विचारधाराको कुनै अर्थ नहुने भन्दै सचेत पनि गराउनुभयो ।

प्रधानमन्त्री ओलीले शिक्षालाई विकास र उत्पादनसँग जोड्ने सरकारको योजना रहेको पनि बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा दिने काममा जिम्मेवारी बोधका साथ अघि बढ्न शिक्षकहलाई पनि सचेत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले एक वर्ष भित्र मुलुकबाट निरक्षरता उन्मुलन गर्ने दावी गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गर्नु भएको थियो ।

 

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस