त्रिचन्द्रमा नेविसंघका दुई गुटबीच खुकुरी हानाहान !

काठमाडौं, १६ जेठ । त्रिचन्द्र कलेजमा नेविसंघका दुई गुटबीच भएको झडपमा परि तीन जना घाइते भएका छन्।

घाइते हुनेमा विधार्थी नेता कौशल दाहाल सहित अजय गजुरेल र गोरख रदुले रहेका छन् । उनीहरुमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीले घटनामा संलग्न ३ जनालाई खुकुरीसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनिल लामा, सहदेव नेपाल र सौरभ श्रेष्ठलाई रहेका छन्।

यस्तो थियो घटना, आफैले ल्याएको मान्छे बाट आक्रमण

त्रिचन्द्रमा नेविसंघका दुई समूहबीच लामो समयदेखि विवाद छ।दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लका अनुसार एउटा समूहको नेतृत्व कौशल दाहालले गरेका छन् भने अर्को समूहको शान सिवाकोटीले गरेका छन्।

दाहाल नेविसंघ अध्यक्ष नैनसिंह महर निकट छन् । सिवाकोटी भने महासचिव कुन्दन काफ्ले निकट हुन् । यी दुई समूहबीच आधिकारिक इकाइ कमिटीको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ।

सोही विवादको क्रममा दाहाल पक्षले केही ‘केटा’ बोलाएर सिवाकोटी पक्षलाई बुधबार आक्रमण गर्ने योजना बनाएका थिए। सोही अनुसार अनिल लामा लगायत गुन्डागर्दीमा संलग्न एक समूह खुकुरी बोकेर कलेज पुगेको थियो। उनीहरुले सिवाकोटी पक्षका नेता नचिनेर हुलमुलमा सिवाकोटी पक्षका नेता ठानेर दाहालमाथि नै खुकुरी हानेका हुन्।

‘जसले कुट्न भनेर केटाहरु बोलाए, हुलमुलमा उसैमाथि खुकुरी प्रहार भएको जस्तो देखिन्छ’, डिएसपी मल्लले भने।

 

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस