‘सरकार! सिन्डिकेट खारेजीको महुसस भएन’

काठमाडौं – ‘यातायातमा सिन्डिकेट खारेज भयो’ माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे। समाचार पढेपछि थापालाई लागेको थियो, ‘सिन्डिकेट खारेज भएछ। अब उपत्यकामा आवतजावत गर्न सहज हुने भयो।’ भक्तपुरका थापा काठमाडौंमा एक बहुद्देश्यी सहकारीमा काम गर्थे। उनी दिनहुँँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए। सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए– सहज तथा सुलभ यात्रा गर्न पाइने भयो भनेर।

सिन्डिकेट अन्त्य भएको समाचार पढेको एक–दुई दिन हुँदै महिना दिन पुग्नै लाग्यो। तर, थापाको यात्रामा भने सिन्डिकेट तोडिएको समाचार पढ्नुअघिभन्दा कुनै भिन्नता आएको छैन। ‘हिजो जसरी कठिन यात्रा गर्दै आएको थिएँ आज पनि त्यसैगरी कार्यालय जानेआउने गर्दैछु,’ उनले भने, ‘सिन्डिकेट तोडियो भनेर मक्ख परियो, खोइ कहाँ तोडियो भेउ नै पाइएन।’

यात्रामा सहजता नआएपछि थापाले सिन्डिकेट अन्त्य घोषणालाई सरकार लोकप्रिय हुन कागजमा गरेको काममात्रै रहेछ भनेर बुझेका छन्। ‘सिन्डिकेट अन्त्य घोषणा त सरकारले लोकप्रिय हुन गरेको काममात्र रहेछ, बल्ल पो बुझियो,’ थापाले भने, ‘सार्वजनिक यातायातमा सास्ती उस्तै छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख २४ गते यातायातमा सिन्डिकेट अन्त्य भएको घोषणा गरेका थिए। मन्त्री महासेठले घोषणा गरेको २० दिन बितिसक्दा समेत जनताले सिन्डिकेट अन्त्य भएको महुसस गर्न पाएका छैनन्। मन्त्रालयले सार्वजनिक यातायात सुधार्न सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरे पनि हालसम्म त्यस्तो हुन सकेको छैन।

थापा मात्रै होइन सबैको गुनासो उस्तै छ। सिन्डिकेट तोडिएको महसस नभएको बताउँछन सबै सर्वसाधारण। काठमाडौं जोरपाटीका अशोक खड्का पनि दैनिक न्युरोड आवतजावत गर्छन्। उनले पनि सिन्डिकेट तोडिएको महसुस गरेका छैनन् । ‘सिन्डिकेट तोडियो भनेको सुनेको छु तर कहाँ तोडियो त्योचाहिँ थाहा छैन,’ उनले भने, ‘हामीले सहज यात्राको अनुभव गर्न पाएका छैनौं, यसलाई तोडिएको भनौं वा नतोडिएको त्यो सरकारले नै बुझोस्।’ जोरपाटी–सुन्धाराको दूरी आठ किलोमिटर मात्र हो। तर, कार्यालय समयमा यो दूरी पार गर्न सार्वजनिक सवारीलाई डेढदेखि दुई घन्टासम्म लाग्छ।

उपत्यकामा सुन्धारा, गोंगबु, जोरपाटी, कीर्तिपुर, भक्तपुर, पाटन, बूढानीलकण्ठ, टोखालगायत रुटमा धेरै जाम हुन्छ। यी रुटमा चल्ने अधिकांश सवारीसाधनले बिहान साढे आठदेखि साढे ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म लामो जाम सामना गर्नुपर्छ। कार्यालय समयमा सार्वजनिक यातायातमा यात्रु ठेलमठेल गर्दै यात्रा गर्न बाध्य छन्।आजको नागरिक दैनिकमा खबर छ ।

शुक्र, जेष्ठ १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस