प्रधानमन्त्री ओलीको भ्रमणको पूर्वसन्ध्यामा चीनले माग्यो आकर्षक विद्युत् आयोजना

काठमाडौं – चीनले ठूला जलविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत्त र प्रसारण लाइन आयोजनाको सूची मागेको हो ।

प्रधानमन्त्री ओली सम्भवतः असार पहिलो साता चीन भ्रमण गर्दैछन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले मागेअनुसार ५ जलविद्युत् आयोजना र ५ प्रसारण लाइन आयोजनाको सूची टुंग्याएको छ । यो सूची परराष्ट्र मन्त्रालयमा पठाइसकिएको ऊर्जा मन्त्रालयले जनाएको छ । ती आयोजनासम्बन्धी विस्तृत जानकारी समेटिएको प्रतिवेदनसमेत चिनियाँ पक्षलाई पठाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तमोर, किमाथांका अरुण, उत्तरगंगा, नलसिंहगाड र पश्चिम सेती आयोजनाको नाम पठाएको छ । यस्तै प्रसारण लाइन आयोजनामध्ये गल्छी–केरुङ ४ सय केभी, बुटवल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी, पूर्व–पश्चिम पहाडी लोकमार्ग ४ सय केभी प्रसारण लाइन, मस्र्याङ्दी–काठमाडौं ४ सय केभी, कर्णाली र कोसी करिडोर प्रसारण लाइन आयोजनाको नाम पठाएको छ ।

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस