गृहमन्त्री बादलकै गाडी फेल भएपछि….

घटना आइतबार विहानको हो । काठमाण्डु थापाथली चोकमा सरकारको प्रत्यक्ष उपस्थिती देखियो । एकाविहानै सरकारी कर्मचारी, पत्रकार, ट्राफिक प्रहरी र अन्य सरोकारवालाहरुको बाक्लो उपस्थितीले यहाँ के हुँदैछ भन्ने प्रश्न उठिरहेको थियो । अचानक मन्त्रीका गाडी आए । कर्मचारीले मन्त्रीहरुलाई हरियो एप्रोन र मास्क थमाए । गृहमन्त्री रामबहादुर थापा बादल र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत एकाएक सडकमा ओर्लिए । ट्राफिक प्रहरी महाशाखा एसएसपी बसन्त पन्तको टोलीले प्रदुषण मापक यन्त्र झिके र गुडिरहेका गाडीलाई रोकेर मन्त्रीहरु जाँचपड्तालमा कस्सिए ।

घटना नं १ – रत्नपार्कबाट जावलाखेल गुड्दै गरेको बा.२ ख ९३५२ नम्बरको भाडाको माइक्रो बस सडकमा साइड लगाइयो । गृहमन्त्री बादलले माइक्रो बसको साइलेन्सरमा प्रदुषण मापक यन्त्र छिराए । डिजिटल मेसिनमा ५.५ अंक देखायो । प्रदुषण मापदण्डअनुसार हुनुपर्ने थियो, २.२ अंक । तत्कालै ट्राफिक प्रहरीले प्रदुषण मापदण्ड फेल भएको भन्दै चिट काटे । लगत्तै वातावरण प्रदुषण गर्नु पनि एक प्रकारको भ्रष्टाचार हो भन्दै गृहमन्त्री बादलले स्वच्छ र स्वस्थ्य जनता भए देश र जनता समृद्ध हुने घोषणा गरे ।

घटना नं २ – वन तथा वातावरणमन्त्रीले बा. १ ज. ४३३१ नम्बरको ट्याक्सीको प्रदुषण मापन गरे । सो ट्याक्सी मापदण्ड भित्र रहेर गुडिरहेको पाइयो । ट्राफिकले पास भन्दै पठाए । मन्त्री बस्नेतले वातावरणमा प्रतिकुल असर पुर्याउने कुनै पनि काम गर्न नमिल्ने बताए ।
गृहमन्त्री बादलले यो सिम्बोलिक रुपमा काम गरिएको सुरुवात हो भन्दै यो अभियानलाई देशैभरि चाँडै नै लागू गरिने जानकारी दिए । वन मन्त्री बस्नेतले नेपाल सरकार देशैभरि स्वच्छ वातावरण र हरियाली प्रवद्र्धन गर्न लागिपरेको बताए ।
स्थानीय र प्रदेश सरकारको समन्वयमा प्रदुषण नियन्त्रण अभियानलाई देशव्यापी बनाइने दुबै मन्त्रीले एकसाथ घोषणा गरेका थिए ।
सरकारले जेठ २२ गते मनाउन लागिएको सप्ताहव्यापी वातावरण दिवसको पाँचौ दिन आज आइतबार सो छड्के जाँचपड्ताल गरिएको अधिकारीले बताएका छन् । सातौ दिन अर्थात् जेठ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा एकवर्षे नेपाल सरसफाइ महाअभियान घोषणा गरिने कार्यक्रम रहेको छ ।

 

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस