तरकारीको सिण्डिकेट तोड्न कस्सिए कृषिमन्त्री, भन्छन ”मनोमानीमा तरकारी ब्यापार गर्ने दिने गए” !

२१ जेठ, काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी बजारमा कैयन विकृति रहेको गुनासोका बीच मन्त्री खनालले सोमबार अनुगमन गरेका हुन् ।

कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोधेका थिए ।

अनुगमनपछि मन्त्री खनालले बजार व्यवस्थित गर्ने बताएका छन् । त्यसकालागि कालिमाटी बजार व्यवस्थापन समितिको बोर्ड बैठक बसालेर आवश्यक निर्णय लिइने उनले बताए ।

मन्त्री खनालले कालीमाटी तरकारी बजारभित्र राखिएका माछा पसलले फोहोर र दुर्गन्ध फैलाएकाले त्यसलाई हटाउने पनि बताए । माछा पसललाई कालिमाटी तरकारी बजारभित्रबाट हटाएर अन्यत्र स्थापना गर्ने खनालको भनाइ छ ।

त्यसको एउटा विकल्प बालाजु क्षेत्र हुनसक्ने कृषिमन्त्री खनालले बताए । आवश्यक पूर्वाधार बनाएर मात्रै माछा पसललाई स्थानान्तरण गरिने उनको भनाइ थियो ।

अहिलेको कालिमाटी तरकारी बजारले काठमाडौंको ६० प्रतिशत मात्रै माग धान्ने गरेकाले थप बजारको व्यवस्था गर्नुपर्ने खाँचो उनले औंल्याए ।

हाल कालीमाटी तरकारी बजारभित्रका स्टलहरु १५ वर्षसम्म भाडामा दिने गरिएको छ । भाडामा दिँदा ८ देखि ११ हजार स्क्वायर फिटको दरले भाडा लिइन्छ । तर कालिमाटी तरकारी तथा फलफूल थोक बजार बिकास समितिबाट कुनै एक व्यापारीले सस्तोमा भाडामा लिएर अरु व्यापारीलाई महंगोमा बेच्ने गरेको पाइएको छ । अब त्यस्लाई तोड्ने मन्त्री खनालले बताए । ‘यहाँ पनि सिन्डिकेट जस्तै छ, अब त्यसलाई तोड्नुपर्छ,’ उनले भने ।

 

 

सोम, जेष्ठ २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस