जग्गा बाँझो राख्न नदिइने

जनकपुरधाम : प्रदेश २ मा सिँचाइ अभावले बर्सेनि हजारौं बिघा जग्गा बाँझै रहन्छन्। बढी जग्गा भएकाहरूले मजदुर अभावमा खेती गर्न सकेका छैनन्। कतिपय किसान भने खेती गर्ने जग्गा नपाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्छन्। तर, अब प्रदेश सरकारले जग्गा बाँझो रहन नदिन र जग्गा व्यवस्थापन गर्न नयाँ नीति ल्याएको छ।

प्रदेशसभा बैठकमा बिहीबार पेस गरिएको नीति तथा कार्यक्रममा आफैं खेती गर्न नचाहनेले जग्गा लिजमा दिन सक्ने र जग्गा नभएको वा कम जग्गा भएका किसानलाई कृषिमा आकर्षित गर्न चक्लाबन्दी गर्ने उल्लेख छ। भूमि करारमा लिई व्यावसायिक खेती गर्ने प्रणालीको विकास गर्ने र त्यसका लागि दुई वर्षभित्र किसान भूमि बैंक स्थापना गर्ने उद्देश्यले प्रदेश र स्थानीय तहको समन्वय, सहकार्य र सरोकारवालासँगको परामर्शमा उपयुक्त निर्णय गर्ने नीति तथा कार्यक्रम छ।

माटोको उर्वरा शक्ति बढाउन सन्तुलित मलको प्रयोगलाई बढावा दिने कार्यक्रम ल्याइएको छ। प्रांगारिक मलको उत्पादन तथा प्रयोगमा वृद्धि गर्न आवश्यक पहल गर्नुका साथै माटोको उर्वरा शक्ति बढाउन प्रदेश सरकारले माटो परीक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, खाद्य गुणस्तर जाँच प्रयोगशाला स्थापना र प्रदेशमा रहेका प्रयोगशालाको स्तरोन्नति गर्ने भएको छ। कृषि तथा पशुपालन क्षेत्रमा अनियन्त्रित विषादी तथा एन्टिबायोटिक प्रयोगका कारण मानव स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्रांगारिक खेती तथा पशुपालनमा जोड दिइएको छ।

संघीय सरकारले सञ्चालन गरेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नदेखिएका बेला चुरेका बस्तीमा खानेपानीको मुहान बर्सेनि सुक्दा सर्वसाधारण समस्या झेल्न बाध्य हुन्छन्। यही बेला प्र्रदेश सरकारले ‘चुरे जोगाऔं, मधेस बचाऔं’ नारालाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ।

प्रदेश सहकारी विकास बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफूल विकास बोर्ड क्रमशः गठन गर्दै जाने नीति प्रदेश सरकारले लिएको छ। प्रदेशको भौगोलिक तथा आर्थिक, सामाजिक विकासको गति हेरी सम्भाव्यता र जनचाहनाबमोजिम कृषिजन्य विशेष उत्पादन क्षेत्र तोक्ने घोषणा गरिएको छ। नीति तथा कार्यक्रममा उल्लेख छ, ‘त्यस्ता क्षेत्रमा आवश्यक उत्पादन तथा कृषि उत्पादनको समर्थन मूल्य निर्धारण गरी बजारीकरणका पूर्वाधारहरूको विकास गरिनेछ।’ आजको अन्नपूर्ण पोष्टमा खबर छ 

शुक्र, जेष्ठ २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस