१३ वर्षपछि रेसुंगा विमानस्थलमा पुग्यो बिमान !

१३ वर्षपछि गुल्मीको सिमिचौरस्थित रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल भएको छ।विमानस्थलमा परीक्षण उडान सफल भएपछि जिल्लाबासी उत्साहित भएका छन्। शुक्रबार तारा एयरलाइन्सको टवीनेटर विमानले सफल परीक्षण गरेको हो। पहिलो पटकको प्रयासमा परीक्षण उडान सफल नभएपछि दोस्रो पटकमा भने उडान सफल भएको थियो।

गाउँमै जहाज उडेको देखेपछि सर्वसाधरण उत्साहित देखिन्थे। जहाज चल्ने खबर पाएपछि वृद्धवृद्धा, बालबालिकासहित ठूलो संख्यामा उपस्थिती थियो।हेलिकप्टर देखे पनि जीवनभर जहाज नदेखेका कतिपय सर्वसाधरणको अनुहारमा भने खुसीयाली देखिन्थ्यो।

पोखराबाट उडेको जहाज बिहान १० बजे रेसुंगा विमानस्थलमा अवतरण हुने समय तालिका भएपनि खराब मौसमका कारण ६ घण्टा लम्बिएको थियो। साँझ ४ बजेमात्र जहाजको परीक्षण सफल भएको हो। जहाज हेर्नका लागि सिमिचौरसहित तम्घास, छत्रकोट, गुल्मीदरवार, धुर्कोट, मदाने, इस्मा गाउँपालिकासहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुंगका सिमाक्षेत्रमा पर्ने गाउँका स्थानीय आएका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमानस्थल उद्घाटन गर्दै आम जिल्लाबासीको चाहना पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे।’अब गुल्मी पनि हवाइ मार्गमा जोडिएको छ, नेता ज्ञवालीले भने, ‘जिल्लाको समग्र आर्थिक विकासमा कोशेढुंगा सावित हुने आशा छ।’ नेता ज्ञवालीसँग जिल्लाबासीले सफल परीक्षण उडानपछि नियमित उडानमा समेत पहलका लागि गरेका छन्।

 

 

शुक्र, जेष्ठ २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस