सेतो बिरालोले यसरी गर्नेछ विश्वकप २०१८ को भविष्यबाणी !

फुटबल समर्थकहरूले पाउल अक्टोपसलाई बिर्सन सक्दैनन् । सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा अक्टोपसको भविष्यवाणी सबै मिलेको थियो । पहिलो चरणदेखि फाइनलसम्मको विजेता अक्टोपसले मिलाएका थिए ।

विश्वकप फुटबल आउँदा पशुपक्षी, जनावर तथा वन्यजन्तु आदिलाई भविष्यवाणीका रूपमा प्रयोग गरिन्छ । तीमध्ये अक्टोपस नै सर्वाधिक सफल रह्यो । अब चार दिनपछि रसियामा विश्वकप हुँदै छ । आयोजक रसियाले पनि अन्तर्राष्ट्रिय मिडिया र फुटबल समर्थकको ध्यान तान्नेक्रममा विश्वकपको भविष्यवाणी गर्ने जनावर सार्वजनिक गरेको छ । यसपटक रसियाले सेतो बिरालो प्रयोग गर्नेछ ।

यसरी छनोट बिरालो
आयोजकले शनिबार सेतो रङको अचिलेस नामको बिरालोलाई आधिकारिक रूपमा विश्वकपको ज्योतिषी भनी सार्वजनिक गरेको हो । रसियाको राष्ट्रिय जनावर भालु हो । रसियाले एकपटक भालुलाई नै विश्वकपको भविष्यवाणीका रूपमा परीक्षण गर्ने योजना बनाएको थियो । तर, राष्ट्रिय जनावरको समान गर्दै योजना अगाडि बढाइएन । त्यसपछि सबैभन्दा सजिलो र घरपालुवा जनावर बिरालो नै उपयुक्त हुने देखिएपछि अचिलेस क्याट छनोट भएको हो ।

विजेता कसरी छनोट
सन् २०१० मा प्रतिस्पर्धी राष्ट्रका झन्डा अक्युरियममा राखिएको थियो । अक्टोपस जुन राष्ट्रको झन्डामा बस्थे, त्यही राष्ट्र नै खेलमा विजेता हुने भविष्यवाणी हुन्थ्यो । यसपटक रसिया विश्वकपमा अलि फरक छ । खेल अगाडि वा एक दिनअघि बिरालोको सामु सा–साना दुईवटा बाकस राखिन्छ । बाकसको दायाँ–बायाँ झन्डा हुन्छ । बिरालो जुन बाकसभित्र छिर्छ, त्यही राष्ट्र विजेता हुनेछ ।

यसका लागि आयोजकले अचिलेस बिरालोलाई धेरैपटक परीक्षण गरिएको थियो । अहिले अचिलेस यसमा अभ्यस्त भइसकेका छन् । हुन त आयोजक रसियाले विश्वकपअघिको अभ्यास खेलमा यस्तो परीक्षण गरेको भने छैन । आयोजकले विश्वकप सुरु भएपछि अचिलेस बिरालोलाई आधिकारिक रूपमै भविष्यकर्ताको जिम्मेवारी दिइनेछ ।

यस्तो पनि…
सन् २०१० मा ब्राजिलले कछुवाको प्रयोग गरेको थियो । तर, कछुवाको भविष्यवाणी अक्टोपसको जस्तो हुन सकेन । त्यसकारण ब्राजिल विश्वकपमा कछुवाको प्रयोग असफल भयो । सन् २०१२ को युरोकपमा हात्तीलाई प्रयोग गरियो । युक्रेनको क्राकोउ चिढियाघरमा एक ठूलो हात्तीलाई परीक्षण गरिएको थियो । सो हात्तीको पाँचपटक मात्र भविष्यवाणी सफल भएको थियो ।

यता मध्यपूर्वी एसियामा ऊँट खेलका भविष्यवाणीकर्ता हो । सन् २०१४ को विश्वकपमा अरबी फुटबल समर्थकहरूले मरुभूमिमा ऊँटको दायाँ–बायाँ दुई झन्डा राखे । ऊँटले बल जुन राष्ट्रको झन्डामा छुन्थ्यो, त्यहीमा उनीहरूले बाजी लगाउँथे । यता नदेरल्यान्डका फुटबल समर्थकले सन् २०१२ को युरोकप र २०१४ को विश्वकपमा सुगालाई प्रयोग गरेका थिए ।

 

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस