मन्त्रीलाई कडा प्रश्न गरेपछि बन्द भएको टेलिभिजन सो बारे बोल्यो नेपाल टेलिभिजन, हेरौ के भन्यो नेपाल टेलिभिजनले !

जेठ ३० काठमाडौं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सम्पत्ति विवरणसम्बन्धी विषयमा कडा प्रश्न सोधेको भन्दै १२ वर्षदेखि सञ्चालित नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गरिएको छ ।

मन्त्री बास्कोटाको निर्देशनमा सरकारी लगानी रहेको नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको पत्रकार राजु थापाको टक शो ‘सिधा प्रश्न’ प्रशारणमा रोक लगाइएको हो ।
मन्त्री बास्कोटाले टेलिभिजनका व्यवस्थापकलाई शनिबार प्रसारण हुने सो टक शो रोक्न मौखिक निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

सञ्चारमन्त्री बास्कोटाले अन्तर्वार्ताका दिन टेलिभिजनका पत्रकार र कर्मचारीलाई हप्काएको, आफूले नमस्कार गर्दासमेत नमस्कार नफर्काएको उनले अनुभव सुनाए । ‘‘टेलिभिजन हाताभित्र पसेदेखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको देखेर म अचम्मै परें,’’ थापाले भने, ‘‘अन्तर्वार्ता दिँदा र त्यस अघि–पछि पनि उनले मलाई रैतिको जस्तो व्यवहार गरे ।’’

अन्तर्वार्तापछि सञ्चारमन्त्री बास्कोटाले आफूलाई घाँटीमा ‘सुर्किनी’ लगाउने चेतावनी दिएको उनले बताए । बास्कोटाले सोही दिन नेपाल टेलिभिजनका महाप्रबन्धकलाई समेत थर्काएको पत्रकार थापाले खुलासा गरे ।

हेर्नुस पुरा भिडियो

 

‘‘केही दिनमा तपाईंहरुको घाँटीमा सुर्किनी लगाउँछु भनेका थिए । त्यही दिन उनले जीएमलाई पनि काम ढंगले गरेनौ भने केही महिना हेर्छु, नत्र हटाईदिन्छुसम्म भनेर गएका थिए,’’ थापाले बताए ।

यता बास्कोटाले यस विषयबारे आफूलाई केही थाहा नभएको सचिवालयमार्फत् जानकारी गराएका छन् । “यस विषयबारे मलाई केही पनि थाहा छैन । नेपाल टेलिभिजनको कार्यक्षेत्र भएकाले उतै बुझ्न अनुरोध गर्छु,” मन्त्रीलाई उद्धृत गर्दै सचिवालयले जानकारी दियो ।

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोक्काले नेपाल टेलिभिजनले सम्झौतामा सञ्चालन गरेको कार्यक्रम बन्द गरेको बताए । त्यस्तै उनले टेलिभिजनले कार्यक्रम बन्द गरेको विषयलाई मन्त्री र मन्त्रालयलाई नजोड्न आग्रह पनि गरे ।

“नेपाल टेलिभिजनले उहाँ (राजु थापा) लाई सम्झौता गरेर कार्यक्रम सञ्चालन गर्न दिएको हो । उहाँ नेपाल टेलिभिजनको कर्मचारी पनि होइन,” उनले भने । त्यस्तै उनले मन्त्री र मन्त्रालयको दबाब नभर्इ आर्थिक कारणले कार्यक्रम बन्द गर्नुपरेको जानकारी दिए ।

“सम्झौताको बुँदामा कार्यक्रम चित्त नबुझे बन्द गरिनेछ भन्ने उल्लेख छ, कानुनी हिसाबले नै बन्द गरिएको छ । जबरजस्ती निकालिएको भन्ने भ्रमपूर्ण कुरा हो,” उनको भनाइ थियो ।
उनले सर्वाधिकार (कार्यक्रम राख्ने वा हटाउने) अधिकार टेलिभिजनमै सुरक्षित भएकाले मन्त्रालयलाई जोड्नु अनुपयुक्त भएको जिकिर गरे ।

 

 

 

 

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस