फुटबलको महाकुम्भ विश्वकप २०१८ आज देखि सुरु, उद्घाटनमा आयोजक र साउदी भिड्दै कसले मार्ला बाजी ?

आयोजक रुस र साउदीअरेबियाबीचको खेल आज राति पौने ९ बजे सुरु भएसँगै २१औं संस्करणको फिफा विश्वकप सुरु हुँदै छ ।

प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रहरुबाट छनोट भएका उत्कृष्ट ३२ टोलीहरुले सहभागिता जनाउँदैछन। पानामा र आइसल्याण्डको यसविश्वकपमा डेब्यू हुदैँछ। प्रतियोगिता जुलाई १५ सम्म चल्नेछ।

सन् १९३० जुलाई १३ देखि ३० जुलाईसम्म उरुग्वेमा भएको पहिलो विश्वकपको उपाधि उरुग्वेले जितेको थियो। त्यसयता २१औँ संस्करणमा आइपुग्दा केवल ८ वटा देशले मात्रै उपाधि जित्न सकेका छन्। यसमा ब्राजिलले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक विश्वकपको उपाधि जितेको छ। जर्मनीले र इटालीले चार चार पटक, अर्जेन्टिना र उरुग्वेले दुई पटक विश्वकप र फ्रान्स, इङल्याण्ड र स्पेनले एक एक पटक विश्वकपको उपाधि हात पारेका छन्।

राति पौनै नौ बजे तीस मिनेटको उद्घाटन समारोहमा इंग्ल्याण्डका गायक रोब्बी विलियम्सन र दुई पटक विश्वकप जितेका ब्राजिलका रोनाल्डोले प्रस्तुती दिएपछि सुरु हुनेछ विश्वकपको उद्घाटन खेल।

जहाँ भिडनेछन् विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये फिफा वरियतामा पुछारमा रहेका रसिया र साउदी अरेबिया। आयोजक रुस ७०औं स्थानमा छ भने साउदी ६७औं स्थानमा।

रुसलाई प्रतियोगिताको परम्परा धान्ने चुनौती हुनेछ। विश्वकपको उद्घाटन खेलमा हालसम्म कुनैपनि आयोजक राष्ट्र पराजित भएको छैन। रुसले यो परम्परा कायम राख्ला या टुट्ला?

प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभको टोली रुसले अक्टोबर २०१७ यता खेलेका ७ खेलमा जित हात पार्न सकेको छैन। गत साता खेलेका वार्मअप खेलमा रुसले अस्ट्रियासँग पराजय बेहोर्यो भने टर्कीसँग १–१ को बराबरी खेल्यो। निकै खराब लय देखे पछि रसियाका पूर्व लिजेन्ड तथा म्यानचेस्टर युनाइटेडमा पूर्वविंगर अन्द्रे कान्चालेस्कीले आफ्नो जिन्दगीमा यो भन्दा खराब रसियन टोली नदेखेको प्रतिक्रिया दिएका थिए।

‘सही भन्नुपर्दा हामी प्रतियोगितामा त्यति रुचाइएका टोली हैनौं,’ स्ट्राइकर आर्टम डेजयुबाले भने, ‘हामी कसैका नजरमा विश्वकप जित्ने दाबेदार टोलीमा पनि छैनौं। तर, हामी कम्तिमा दोस्रो चरणमा प्रवेश गर्न चाहान्छौं। त्यसले घरेलु दर्शकसामु हामी पनि फुटबल खेल्न सक्छौं भनि प्रमाणित गर्नेछ भने देशले पनि हामीमाथि गर्व गर्ने वातावरण बन्नेछ।’

‘हामी आइस हक्की या बास्केटवलको देशमात्रै हैनौं,’ फुटबलको देशपनि हौं, उनले थपे, ‘सुरुमा हामीले दोस्रोचरणमा पुग्न आफ्नै सबै क्षमता लगाउनु छ। त्यसपछि मात्रै अघिको सोच्नेछौं।’

साउदी अरेबियाको लयपनि रुसको जस्तै छ। उसले विश्वकप जानुअघि खेलेका तीन वटै खेलमा पराजय भोगेको थियो। उसले इटाली, पेरु र जर्मनीसँग लगातार हारको सामना गर्नुपर्यो। सन् २००६ पछि साउदी पहिलोपटक यसविश्वकपमा छनोट भएको हो।

‘मलाई लाग्छ रसियाविरुद्धको खेल हाम्रालागि चुनौतीपूर्ण हुनेछ,’ साउदीका मिडफिल्डर यहया अल सेहरीले भने, ‘रसिया डिफेन्समा राम्रो टोली हो। तर, हामी आफ्नो खेलमा केन्द्रीत भयौ भने विश्वास छ हामी रसियालाई पराजित गर्न सक्छौं।’

 

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस