उद्योगीलाई प्राधिकरणका प्रमुख कुलमानले भने यसो गर्नुस नत्र काटिएला विद्युत….

जेठ ३१, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई क्यापसिटर बैंक राख्नको लागि सचेत गराएको छ। तराईका जिल्लामा विद्युत् आपूर्तिमा भोल्टेजको समस्या देखिएको छ। नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युतमा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत् लोडको मागलाई सन्तुलन राखी नियमित विद्युत् प्रवाहका लागि क्यापासिटर बैंक राख्नको लागि उद्योगीहरूलाई आग्रह गरेको छ। विद्युत वितरण विनियमावली–२०६९ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरूपमा क्यापासिटर बैंक राख्नुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणको विद्युत् वितरण विनियमावली–२०६९ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरूपमा क्यापासिटर बैंक राख्नुपर्ने व्यवस्था गरेको छ।

तर, विनियमालीविपरीत अधिकांश उद्योगले क्यापासिटर बैंक राखेका छैनन्। जसकाकारण उद्योग स्वयंले र आमउपभोक्ताले विद्युत् आपूर्तिमा भोल्टेजको समस्या व्यहोरिरहेका छन्। क्यापासिटर बैंक नहुँदा न्यून भोल्टेजको कारणले लाइन ट्रिप भई विद्युत् आपूर्तिमा समस्या हुने गर्छ, जसको मारमा आम उपभोक्ता पर्छन्। यसबाट प्राधिकरणले अनियमित विद्युत् आपूर्तिको आरोप मात्रै खेपिरहेको छैन, प्राविधिक चुहावट पनि बढिरहेको छ। प्राधिकरणको प्राविधिक टोलीले पूर्वका १४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ वटा उद्योगले मात्रै क्यापासिटर बैंक राखेको फेला पारेको थियो। क्यापासिटर बैंक राखेका अधिकांश उद्योगले पनि आवश्यकता र तोकिएको मापदण्डअनुसारको नराखेको पत्ता लागेको छ। प्राधिकरणले मुलुकभरका वितरण केन्द्रलाई क्यापासिटर बैंक नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरिसकेको छ।

धेरै उद्योगले क्यापासिटर बैंक नराखेको फेला परेपछि निश्चित समय दिएर उनीहरूलाई अनिवार्यरूपमा राख्न लगाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘ठूला-ठूला उद्योगले नै क्यापासिटर बैंक नराखी दिएपछि अहिले मुख्यगरी तराईका जिल्लामा भोल्टेजको कारण लाइन ट्रिप हुने, विद्युतीय उपकरण नचल्ने लगायतका समस्या देखिएका छन्’,उनले भने, ‘यसका लागि उद्योगलाई निश्चित समय दिएर क्यापासिटर बैंक राख्न भन्छौँ, हामीले दिएको समयमा राखेनन् भने विनियमावलीमा भएको व्यवस्थाअनुसार लाइन काट्नेसम्मको कारबाही गर्छौं।

’ नीजि ऊर्जा उत्पादकहरूले पनि आफ्नो जलविद्युत् केन्द्रहरूबाट भोल्टज सुधारको लागि दिनुपर्ने ‘रियाक्टिभ पावर’ नदिएर ‘एक्टिभ पावर’ मात्र आपूर्ति गरिदिएकाले भोल्टेज सुधार गर्न कठिनाई हुने गरेको छ। तराईमा गर्मी बढेसँगै विद्युत माग बढेको तर त्यही क्षेत्रमा रहेका अधिकांश उद्योगले क्यापासिटर बैंक नरखीदिँदा भोल्टेजमा आउने उतारचडावले विद्युत् आपूर्तिमा समस्या हुने, कम भोल्टेजको कारण पंखा, एसी,मोटरजस्ता विद्युतीय उपकरण नचल्ने, बत्ती पनि मधुरो बल्नेलगायतका समस्या देखिएका हुन् भारतमा गर्मी बढेका कारण भोल्टेज ड्रप हुँदा त्यहाँबाट आयात भइरहेको विद्युत् झनै कम भोल्टेजको रहँदा प्रणालीमा समस्या देखिएको छ। नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मीको कारण फ्यान तथा एसी चल्ने हुंदा गर्मी समयमा भोल्टेज ड्रपको समस्या अझ बढ्छ। यसकै कारण वुटवल, विराटनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा समय समयमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। तराईमा गर्मी बढेसँगै विद्युत माग बढेको, तर त्यही क्षेत्रमा रहेका अधिकांश उद्योगले क्यापासिटर बैंक नरखीदिँदा भोल्टेजमा आउने उतारचडावले विद्युत् आपूर्तिमा समस्या हुने, कम भोल्टेजको कारण पंखा, एसी,मोटरजस्ता विद्युतीय उपकरण नचल्ने, बत्ती पनि मधुरो बल्नेलगायतका समस्या देखिएका हुन्।

पहाडी जिल्लामा टाढा-टाढाबाट ११ र ३३ केभी प्रसारण लाइनबाट लैजाँदा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न प्राधिकरणले छोटो-छोटो दूरीमा सवस्टेसन बनाउनेलगायतका काम गरिरहेको छ। यसबाट कम तथा उच्चभोल्टेजको समस्या समाधान हुने र प्राविधिक चुहावट घढ्ने प्राधिकरणले जनाएको छ। दीर्घकालीन रुपमा भैरहवा, विराटनगर, नेपालगञ्ज क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान गर्न त्यस क्षेत्रमा छुट्टै १३२ केभीको प्रसारण लाइन र सब स्टेसन बनाउन लागिएको छ।

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस