युवा संघ र वाईसियलको एकिकरण एक साता भित्रै, नेतृत्वमा कसले मार्ला बाजी ?

काठमाडौं । युवा संघ, नेपाल र योङ कम्युनिष्ट लिग(वाईसियल) एक साताभित्रै एकीकरण हुने भएको छ । पार्टी एकीकरणसँगै भातृ संगठन पनि एकीकरणको तयारीमा जुटेका हुन् ।

तत्कालीन एमालेको युवा संघ, नेपाल र तत्कालीन माओवादी केन्द्रको वाईसियल, नेपालको एकता कार्यदलको बिहिबार बसेको बैठकले दुई संगठनबीचको एकीकरण प्रक्रियालाई एक साता भित्रै टुंग्याउने निर्णय गरेका छन् ।

निर्णयसँगै यी संगठनले त्यसको तयारी समेत गरेका छन् । एकता प्रक्रियालाई टुंगाउने गरी कार्यदल स्तरमा छलफल भईरहेको वाईसियल नेपालका अध्यक्ष दिप शिखाले जानकारी दिनु भयो ।

कार्य दलको बैठकमा एकीकृत संगठनको नाम, विधान र सांगठानिक संरचनाको विषयमा छलफल शुरु गरिएको छ । अध्यक्ष शिखाले संगठनको भावी दिशा भने मुलुकको समृद्धि र रोजगारीको अवसर सृजना गर्नका लागि सरकारलाई सक्दो सहयोग गर्ने दिशामा केन्द्रित हुने निष्कर्ष निकालिएको पनि बताउनु भयो ।

दुवै संगठनको बुधबार बसेको उच्च स्तरीय बैठकले संगठनको विधान र सांगठनिक संरचना तय गर्ने जिम्मेवारी एकता कार्य दललाई दिने निर्णय गरेको थियो । त्यही निर्णयको आधारमा विहिबार वाईसियल नेपालको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको एकता कार्य दलले एकीकरणको समग्र विषयमा छलफल शुरु गरेको हो ।

एकीकृत संगठनको नाम सम्भवतः नयाँ रहनेमा सहमति हुने वाईसियल, नेपालको दावी छ । तर, युवा संघ, नेपालले भने युवाहरुको प्रतिनिधित्व गर्ने संगठन भएकाले यसको नाम युवा संघ, नेपालनै राख्न उपयुक्त हुने तर्क गर्दै आएको छ । दुवै संगठनले एकीकरणको प्रारुप तयार पारेपछि पार्टीले त्यसलाई अनुमोदन गर्नेछ ।

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस