दोश्रो पटक थपियो सुन तस्करी अनुसन्धान समितिको म्याद, हेर्नुस अहिले सम्म के के प्राप्त गयो अनुसन्धान समितिले !

३१ जेठ, काठमाडौं । साढे ३३ किलो सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धान गर्नका लागि गठित विशेष अनुसन्धान समितिको म्याद दोस्रो पटक पनि थपिएको छ ।समितिको म्याद पुनः एक महिनाका लागि मन्त्रीपरिषद्ले थप गरेको पत्र गृह मन्त्रालयमा पुगेको हो ।संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप गत १९ चैतमा गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा सरकारले अनुसन्धान समिति गठन गरेको थियो ।त्यसवेला बिर्तामोडका सुन व्यवसायी साजन मुखिया हत्याको अनुसन्धान गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको थियो । तर, मुखियाको हत्यासँग साढे ३३ केजी सुन गायब प्रकरणको कनेक्सन भेटिएन ।

गत माघ ९ गते युएईबाट आएको भनिएको तस्करीको साढे ३३ किलो सुन गायब भयो । त्यसपछि यही प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भयो । सनमको हत्या सुन लुकाएको आशंकामा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ को समूहले गरेको प्रहरीको भनाइ छ । सनमको हत्या भएपछि काठमाडौंस्थित अपराध महाशाखाको समिति विराटनगर पुगेको थियो । तर, घटनाक्रमले अपराध महाशाखाकै भूमिका शंकास्पद रहेको देखाएपछि घटना रहस्यमय बनेको थियो ।त्यसपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गर्यो । तर घटना रहस्यमय बन्दै गएपछि मन्त्रीपरिषद् बैठकले गृहका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान समिति गठन गरेको थियो ।

पौडेल नेतृत्वको समितिले सनम हत्याको कारण खोतल्दै जाँदा सुन तस्करको समूहले हत्या गरेको निष्कर्ष निकाल्दै गोरे, एमकेलगायत समूहको पहिचान गरेको थियो । विशेष समितिले गोरेको समूहले विभिन्न समयमा ३८ क्वीन्टल सुन तस्करी गरेको र विभिन्न व्यक्तिहरुको संग्लनता रहेको निष्कर्ष निकाल्यो । समितिले सुन तस्करी र सनम हत्यामा ६३ जना संग्लन रहेको निष्कर्ष निकालेको थियो । मोरङ जिल्ला अदालतमा मोरङ प्रहरीले हत्या, अपहरण, शरीर बन्धक, तस्करी लगायतमा मुद्दा दर्ता गरेको छ ।

अनुसन्धान समितिले यो प्रकरणमा नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्धय प्रतिज केसी र सञ्जय राउत, सइ बालकृष्ण सञ्जेल, पूर्व डिआइजी गोविन्द निरौला लगायतलाई पक्राउ गर्यो ।

प्रहरीसँगै मख्य अभियुक्त भनिएका गोरेलगायत अन्यलाई पक्राउ गर्दा एसएसपी श्याम खत्री र छिरिङ वाङदेल भने आफैं अदालतमा उपस्थित भए । हाल सुन तस्करी प्रकरणमा गोरेसहित ३१ जना पूर्पक्षका लागि जेल चलान भएका छन् भने अझै २९ जना फरार सूचीमा छन् । समितिले सुन तस्करीको अनुसन्धान विभिन्न कोणबाट गरिरहेको दाबी गर्दै आएको छ ।
समितिले पछिल्लो समय अदालतको आदेशअनुसार अभियुक्तहरुको सम्पति रोक्का गर्ने, जफत गर्ने, फरार भएकाहरुको खोजी कार्य तिव्र पारेको जनाएको छ ।

यसैबीचमा अनुसन्धान समितिले सुन तस्करीका फरार अभियुक्त राजेद्रकुमार शाक्यले सञ्चालन गरेको आरके ज्वेलर्समा छापा मारेर ३० करोडभन्दा बढीको सुनचाँदी जफत गर्यो । त्यसैगरी बुधबारमात्र अर्का अभियुक्त चेतनाथ भण्डारीको स्वामित्वमा रहेका बाजेको सेकुवाका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ । समितिले तस्करीको सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको घरमा पनि छापा मारेको थियो ।

 

 

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस