यसकारण नभिज्नुस यो समयको पानीमा, मौसमविदले दिए यस्तो चेतावनी !

काठमाडौं । उपत्यकामा शुक्रबार बेलुका र राति परेको पानीमा देखिएको ‘पहेँलो लेदो’को असर खानेपानीदेखि बालीनालीसम्म परेको विज्ञहरुले बताएका छन् । घरका छतमा राखिएका पानीट्यांकमा सङ्कलित पानी प्रयोग नगर्न पनि उनीहरुले सुझाव दिएका छन् ।भारतको राजस्थान मरुभूमिको धुलो हुरीले उडाउँदा सोही पहेँलो धुलो नेपाली वायुमण्डलमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवाष रिमालले बताए ।मरुभूमिको धुलो नेपाली वायुमण्डलमा मिसिएको र सक्रिय मनसुनका कारण वर्षा बनेर उक्त धुलो पनि पानीसँगै खस्दा यसको चौतर्फी असर देखिएको उनको भनाइ छ ।
विशेषगरी काठमाडौं उपत्यकाका घरको छतका ट्याङ्कीमा सङ्कलन गरिएको पानी पिउनमात्र होइन– खाना बनाउन, हातखुट्टा धुनसमेत अयोग्य रहेको मौसमविद् रिमालले बाह्रखरीलाई जानकारी दिए ।

“हालै देखिएको यस प्रकारको पानीमा प्रदूषणयुक्त कणसमेत देखिएकाले यस्तो पानी उमालेर पिउनसमेत अयोग्य देखिएको छ,” रिमालले भने ।
यसका साथै पार्किङ गरी राखिएका सवारी साधन, सुकाएका कपडा र बालीनालीको फूल, कोपिलामा धुलो टाँसिदा र खोलानालाको पानी पिउँदा गाईवस्तुमा समेत यस किसिमको वर्षाले प्रत्यक्ष असर पुर्याएको छ ।

मौसमविद्हरुका अनुसार नेपालको पश्चिमी वायुमण्डल क्षेत्रमा यो पहेँलो धुलो मिसिए पनि नेपालका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रमा यसको असर आगामी दुई दिनसम्म देखिनेछ ।
पहेँलो धुलोका साथै ज्यादा अम्लियपना हुने, प्रदूषणयुक्त कण रहने र हानिकारक रसायनिक तत्वसमेत देखिएकाले यस प्रकारको वर्षामा नरुझ्न, खुला स्थान र सङ्कलन गरिएको पानी नपिउन र यस प्रकारको पानीले आँखा पोल्ने, छालामा एलर्जी हुनेजस्ता अल्पकालीन समस्या देखापर्ने र यसबाट नआत्तिन पनि मौसमविद्को सुझाव छ ।राजस्थान नेपालबाट १५ सयभन्दा बढी किलोमिटर टाढा छ । विज्ञहरुका अनुसार यति टाढाको स्थानबाट नेपाली वायुमण्डलमा सामान्य अवस्थामा पहेँलो धुलो आउन सक्ने देखिँदैन ।
राजस्थानमा ठूलो हावाहुरीका कारण यस्ता कण नेपाली वायुमण्डलमा देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार यसअघि पनि हिउँदको समयमा मरुभूमिका कणहरु नेपाली वायुमण्डलमा आएको तर वर्खाको मौसममा भने नेपाली इतिहासमै ठूलो परिमाणमा पहिलो पटक यस्तो वर्षा भएको मौसमविद् रिमालले बताए ।वायुमण्डलमा यस प्रकारको वर्षाको आंशिक असर केही दिनसम्म देखिन सक्ने महाशाखाको पूर्वानुमान छ ।
पहेँलो धुलोकै कारण आन्तरिक तथा बाह्य दुवै प्रकारको हर्वाइ उडानमा भने कुनै असर नपरेको रिमालले जानकारी दिए ।

 

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस