प्रधानमन्त्री ओलीले सुझाए नेपाल र चीनबीच साझा विकास, शान्ति र समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका छन्। चीन भ्रमणको पहिलो दिन मंगलबार बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, व्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको प्रयोग र प्राकृतिक स्रोत तथा वातावरण गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताएका हुन्।

‘आपसी विश्वास, मित्रता र समझदारकिा आधारमा नेपाल र चीनले भविष्यमा साझा विकास र शान्ति तथा समृद्धि प्राप्तिका लागि सहकार्य गर्नेछन्,’ चीनसँग सहकार्य गर्न सकिने महत्वपूर्ण ६ क्षेत्रको किटान गर्दै प्रधानमन्त्री ओलीले भने। यी ६ वटा क्षेत्र नेपाल–चीन सम्बन्धका महत्वपूर्ण खम्बा भएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीच यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, व्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको प्रयोग र प्राकृतिक स्रोत तथा वातावरण क्षेत्रमा सहकार्य गर्न सकिने सूत्र पेस गरेका छन्।
प्रधानमन्त्री ओली ६ दिने चीनको औपचारिक भ्रमणको सिलसिलामा मंगलबार बेइजिङ पुगेका हुन्। नेपाली ध्वजावहाक नेपाल एयरलाइन्सको विमान छोडी एक सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको विमानमा बेइजिङ पुगेका उनले त्यहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट र समकक्षी ली खछ्याङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीका रुपमा यो उनको दोस्रो चीन भ्रमण हो। यसअघि प्रधानमन्त्रीका रुपमा २०७२ सालमा चीनको भ्रमण गर्दा उनले पारवहन तथा यातायातलगायतका महत्वपूर्ण सम्झौता गरेका थिए।  आजको नागरिक दैनिकमा यो खबर छ ।

ओलीले ६ सूत्रमध्ये पहिलो ‘यातायात तथा कनेक्टिभिटी’ को व्याख्या गर्दै यातायात प्रविधिको क्षेत्रमा पछिल्ला दिनमा भएको विकासले वर्तमान समाजमा महत्वपूर्ण परिवर्तन ल्याएको दाबी गरे। ‘विकसित होस् वा विकासोन्मुख अवस्था, यातायात अर्थतन्त्रको मेरुदण्ड हो। खासगरी यातायात र सञ्चार क्षेत्रको पूर्वाधार विकासबिना सामाजिक–आर्थिक रुपान्तरण गर्न असम्भव हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

नेपाल सरकारले नेपालभित्र र सीमा क्षेत्रमा यातायात नेटवर्क विकासलाई उच्च प्राथमिकता दिएको ओलीले बताए। नेपालजस्तो भूपेरिवेष्टित देशका लागि रेलसेवा सबैभन्दा महत्वपूर्ण हुने दाबी उनले गरे। रेलसेवाले यातायात खर्च कम गर्ने, अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनलाई विविधीकरण गर्ने र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उनले बताए। ‘कनेक्टिभिटी र व्यापारको महथत्व बुझेर नै २०७२ मा पहिलोपटक चीन भ्रमण गर्दा नेपाल र चीनबीच रेल नेटवर्क विकास गर्न सहमत भएका थियौं। हामी यो महŒवपूर्ण प्रयासलाई अघि बढाउँदै अन्तरदेशीय रेलवे पूर्वाधार विकास गरी नेपाल–चीन मित्रता तथा द्विपक्षीय सहयोगलाई नयाँ युगमा प्रवेश गराउन प्रतिबद्ध छौं,’ उनले भने।

नेपाल र चीन सडक, हवाई, सञ्चार र ऊर्जा क्षेत्रमा बहुआयमिक कनेक्टिभिटी नेटवर्क विकास गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए। यस्तो कनेक्टिभिटीले नेपालको अर्थतन्त्रलाई चीनसँग जोड्ने दाबी उनको थियो। उत्तर–दक्षिण कोरिडोर, अन्तरदेशीय प्रसारण लाइन, हवाई र दूरसञ्चार कनेक्टिभिटीबाट नेपाली जनताले ठूलो फाइदा लिन सक्ने पनि प्रधानमन्त्री ओलीले बताए।

बुध, असार ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस