के नेपालमा चिनियाँ रेल कुद्ला ?

काठमाडौँ । के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । असार ७ गते बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो ।

विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले भनेका थिए—निकै ठूलो प्रयासबाट हामीले यस सम्झौतामा हस्ताक्षर गरेका छौँ, अब नेपाललाई चीनसँगको ‘कनेक्टिभिटी’ बढाउने र छिमेकीको समृद्धिबाट कसरी लाभलिने भन्ने कुरा हामीमै भरपर्छ ।

महतले भनेजस्तै भारतले समेत हस्ताक्षर गर्न नमानेको यस आयोजनामा नेपालले सहमति जनाउन थोरै मेहिनेतले पक्कै सम्भव थिएन होला । अनि उक्त आयोजनाको प्रारुपभित्र छिरेरमात्र पनि चिनियाँ समृद्धि नेपालमा आइहाल्ने होइन । डा.महतले चीनको उक्त आयोजनाबाट लाभान्वित हुन नेपालले हवाई तथा स्थल ‘कनेक्टिभिटी’, पारवहन र पूर्वाधार निर्माणमा चिनियाँ लगानी भित्र्याउन जरुरी छ पनि भनेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ

महतले संकेत गरेको कनेक्टिभिटीको पहिलो प्राथमिकता रेलमार्ग नै थियो । त्यही कनेक्टिभिटीको सार्थक पहल असार ७ गते बिहीबार भएको छ र अब सुरुहुने अपेक्षा पनि बढेको छ । दुई प्रधानमन्त्रीबीच चीनसँग रेलमार्ग र प्रशारण लाइनका साथै अरु धेरै कुराहरुको सहयोग र सहकार्यमा सहमति भएको छ । तीमध्ये पनि बिहीबार भएको रेलमार्ग निर्माणको सम्झौताले भने अब नेपालमा रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको थालनी हुने आशा बढाएको छ ।

बेइजिङमा भएको यस समझ्दारीले नेपालमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्यका लागि बाटो खोलिदिएको छ । यसका लागि आवश्यक पर्ने खर्चको पनि अनुमानित तथ्याङ्क आपसमा तय भएको छ । उक्त डिपीआर तयार भएपछि निर्माणको प्रक्रिया नै सुरु हुनेछ । चीनकै योजनामा पनि सन् २०१९ को अन्त्यसम्म चीनको सिगात्सेसम्म रेल पुर्याइने बताइएको छ । नेपालमा रेल भित्रिँदा यसैलाई केरुङको बाटो काठमाडौँ ल्याउने हालको सोँच हो । नेपालको चीनसँगको सीमा रसुवागढीदेखि काठमाडौँ करिब ८० किलोमीटर छ । सम्भवतः डिपीआर निर्माण हुँदा यही मार्ग छान्ने सम्भावना धेरै रहन्छ । चिनियाँ पक्षको तयारी पनि यही देखिन्छ ।

नेपालमा आउने रेल कार्गाे रेल रहने योजना चीनले अघि सारेको छ । कार्गाे रेलमा सामान र यात्रु दुवै राख्न मिल्छ । यस्तो रेलले नेपाललाई छुँदामात्र हामीले भन्ने गरेको समृद्धि विपनामै प्राप्त हुनेछ । किनभने हाम्रो उत्तरी छिमेकीको समृद्धिलाई अहिले ठूलो हिमालले छेकेको छ । उत्तरी छिमेकीको सम्पन्नताबाट हामी लाभान्वित हुन सबैभन्दा पहिलो शर्त र आधार भनेकै यातायात हो । समुद्रसम्मै पहूँच नभएका हामीहरुको लागि अहिले हिमाल वारिपारि गर्न सहज, सरल र सस्तो बाटो चाहिएको छ । त्यो बाटो सकेसम्म रेलकै बन्यो भने लाभदायक हुनेछ ।

रेल नेपाल भित्रिँदा चिनियाँ समृद्धि भने पक्कै भित्रिन्छ । हामी तेलदेखि सेलसम्म नै दक्षिणतर्फ निर्भर छौँ । हामी वाध्यताबस आश्रित हुनुपरेको फाइदा उनीहरुले उठाउने गरेको एउटा उदाहरण नाकाबन्दी हो । त्यसैले वास्तवमै चीनबाट यहाँ रेल भित्रियो भने उत्तरको समृद्धि कुनै न कुनै रुपमा नेपाल भित्रिन्छ र यसले दक्षिणतर्फको परनिर्भरताको हद घटाउन सघाउँछ । त्यसैले पनि चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीलाई नेपालीले पछ्याइरहेका छन् ।

विश्वको करीब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ योजनाका कारण विश्वमा चीनको चासो र चर्चा बढी छ । दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्को हामीजस्ता छिमेकीका लागि फाइदै हो ।

सन् २०१६ को अन्त्यसम्म चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर भन्दा बढी देखिन्छ । विगतका वर्षका तुलनामा यो निकै धेरै हो । हाम्रो चासो पनि यहीँ नै हुनुपर्छ । चीनको यति ठूलो लगानीबाट हामी कसरी लाभान्वित हुने भनेर हामीले नै योजना बनाउन सक्नुपर्छ ।

चीनले गत जुन २६ मा प्रतिघन्टा कम्तीमा ३५० किलोमीटर गुड्ने बेइजिङ—सांघाई द्रुतगतिको रेलसेवा सुरुगर्यो । ठूलो उपलब्धि मानिएको यो संसारकै सबैभन्दा तिब्र गतिको रेलमा पर्दछ ।

तर के उसले यो तीब्र गतिको रेलमा नेपाललाई पनि सवार गराउला त भन्ने प्रश्नमा केही महिना अघि नेपाल आएका चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङले भनेका थिए — चीनले नेपाललाई चीनको आर्थिक विकासको द्रुतगतिको रेलमा चढ्न स्वागत गरेको छ । नेपालको समृद्धि र प्रगतिका लागि पनि चीन तयार छ । नेपाल समृद्ध होस भन्ने चीनको चाहना हो तर यो समृद्धिबाट कसरी फाइदा लिने भनेर त नेपालले नै सोच्ने हो ।

राजनीतिक विश्लेषकहरु भन्छन्— नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको छ । राजनीकि, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन् । यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरुमा बढ्दो छ । चीनको बिआरआइ आयोजनामा नेपालको सहभागिता पनि यसको सबैभन्दा ओझिलो उदाहरण हो ।

यसबाट लाभान्वित हुने योजना बनाउनुपर्छ भन्छन् नेपालको अर्थ राजनीति विषयका ज्ञाता एवम् नेकपाका सांसद डा.सूर्य पाठक । चीेनजस्तो समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुसीको कुरा हो, तर छिमेकीको समृद्धिबाट कति र कसरी लाभ लिने भन्ने कुरा हाम्रो क्षमतामा भरपर्छ । चीनले नेपाललाई पनि आफ्नो समृद्धिको रेलमा सवार गराउन चाहेकै छ तर तानेर लाने होइन, रेल चढ्न आफै सक्षम हुनुपर्छ—डा.पाठकको भनाई छ ।

नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि ‘ट्रान्जिट प्वाइन्ट’ पनि हुनसक्छ । चिनियाँ रेल नेपाल आउँदा यहाँमात्र बस्दैन सायद भारतसम्मै पुग्छ । भारत हुदै अन्त पनि जान्छ । त्यतिखेर नेपाल दक्षिण एसियाको व्यापारिक केन्द्र पनि बन्न सक्छ । त्यो रेल यहाँ आउँदा सवा सय करोड भन्दा बढी जनसंख्या रहेको देशका पर्यटक भित्रिन्छन् ।

त्यसैले अहिले सबै नेपालीले सोधिरहेका छन्— के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्नको उत्तरका लागि अहिले अनुत्तरित नै रहेका रेलमार्ग निर्माणको लगानी कस्तो र कसको हुने तथा कसरी निर्माण गर्ने भन्नेजस्ता प्रश्नहरुको उत्तर जतिसक्दो चाँडै पहिल्याउँदा राम्रो हुन्छ

आइत, असार १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस