गृहमन्त्री रामबहादुर थापा ट्राफिक जाममा परेपछि प्रतिनिधिसभामा खैलाबैला………

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक केही बेरको लागि स्थगित भएको छ । मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा विभागीय मन्त्रीको अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध गरेपछि बैठक अवरुद्ध भएको हो ।

बैठकमा सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय , गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफल चलिरहदा गृहमन्त्रीको उपस्थिति नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक प्रभावित भएको हो ।

प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रश्नमा सभामुख कृष्णबहादुर महराले मन्त्री आउदै गरेको जानकारी गराउदै आसन ग्रहण गर्न अनुरोध गर्नुभयाे तर प्रतिपक्ष सांसदहरूले त्यसलार्इ इन्कार गर्दै बैठक अवरूद्द गरिरहे । त्यस बारेमा केही समय प्रतिपक्षी दलका सांसद र सभामुखबीच भनाभन नै भएको थियो ।

सभामुख महराले गृहमन्त्री अाउँदै हुनुहुन्छ ट्राफिक जाममा पर्नुभएको छ भन्दै बैठक सुचारु गराउन आग्रह गर्नुभएकाे थियाे । तर प्रतिपक्ष सांसदहरू सभामुखले त्यसाे भन्दा गलल्ल हाँसे । बैठक कक्षमा केही बेर हाँसो गुन्जियो । प्रतिपक्षी दलका सांसदहरुले संसदको अपमान भएको भन्दै उठेर विरोध गरिनै रहेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।

विभागीय मन्त्रीको अनुपस्थितिमा छलफल अवरुद्ध भएको यो दोश्रो पटक हो । यसअघि पनि मन्त्रीको उनुपस्थितिमा बैठकको छलफल प्रभावित भएको थियो ।

 

सोम, असार ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस