आज यस्तो भए मात्र अर्जेन्टिना अन्तिम १६ मा पुग्छ? यस्तो छ अंकगणित !

असार १२ काठमाडौँ, छनौट नहुने खतरा अन्तिम समयमा शानका साथ चिरेर विश्वकप यात्रा गरेको टिम । विश्वकपमा तुलनात्मक रुपमा सजिलो मानिएको समूहमा । तर समूह चरणका दुई खेल सकिँदा अघिल्लो चरण पुग्ने सम्भावना भन्दा बाहिरिने खतरा बढी बन्यो अर्जेन्टिनाको ।

स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकपमा अघिल्लो चरण पुग्ने सम्भावनाका लागि निकै महत्वपूर्ण खेलमा मंगलबार नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी तथा दोस्रो खेलमा क्रोएसियासँगको ३–० को हारले मेस्सी टिम अर्जेन्टिनालाई समस्यामा पारेको छ ।

त्यो समस्याबाट बाहिर आउन राम्रो प्रदर्शन गरिरहेको नाइजेरियालाई अर्जेन्टिनाले हराउनु पर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सेन्ट–पिटर्सबर्गमा हुँदैछ ।

पहिलो खेलमा क्रोएसियासँग २–० ले पराजित भएको नाइजेरियाले दोस्रो खेलमा आइसल्याण्डलाई २–० ले हराएको थियो ।

यो समूहबाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ र आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा उ समूह विजेता बन्नेछ ।

अर्जेन्टिनामाथि जित निकालेमा नाइजेरिया छनौट हुनेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई नहराएको अवस्थामा नाइजेरियाका लागि अर्जेन्टिनासँगको खेलमा बराबरी पनि काफी हुनेछ ।

अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएको अवस्थामा आइसल्याण्डको सम्भावना रहन्छ । त्यसका लागि क्रोएसियालाई दुई गोल अन्तरले हराउनु पर्नेछ र नाइजेरियाले भन्दा एक गोल बढी गर्नु पर्नेछ ।

अर्जेन्टिनाको सम्भावनाका लागि नाइजेरियालाई हराउनु पर्नेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई हराउनु हुनेछैन । आइसल्याण्डले क्रोएसियालाई हराएको अवस्थामा पनि अर्जेन्टिनाको सम्भावना रहन्छ ।

तर त्यसका लागि आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्नेछ । यस्तोमा बराबरी भएमा फेयर प्लेका आधारमा निर्णय हुनेछ । अर्जेन्टिनाले तीन पहेँलो कार्ड पाएको छ भने आइसल्याण्डले एउटा पनि पाएको छैन ।

तर विश्वकप छनौटको अन्तिम तर निकै महत्वपूर्ण इक्वेडरसँगको खेलमा मेस्सीले ह्याट्रिक गरेर रुस यात्रा तय गराएकाले यसपटक पनि मेस्सीको जादु चल्ने अपेक्षा गरिएको छ ।

 

मङ्ल, असार १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस