विदेशको सिपले स्वदेशमै मालामाल

सुनौलो नेपाल,असार १४ , चितवन। पांँच बर्ष लगातार कतारमा काम गरे । केही उपलब्धी हात परेन । सिंगापुरमा ३ बर्ष काम गरे खासै प्रगति भएन । कोरिया गएर त्यहाँ, विजनेशमेन बन्ने सपना पनि ६ महिनामै तुहियो । एकपछि अर्को हार खाए तर हिम्मत हारेनन् । विदेश कहिल्यै नफापेका उनीलाई आफ्नै जन्मभूमिमा फलिफाप भयो ।
विदेशको हण्डर खाए विगत ९ बर्षदेखि आफ्नै देशमा स्थापित भएका छन् अर्जुन के.सी । भर्खर ४० वसन्त पार गरेका उनी अहिले भरतपुर १० को पुरानो मेडिकल कलेज अगाडि ज्याकव क्याफेका संचालक बनेका छन् । रोजगारी खोज्ने अवस्थाबाट रोजगारी दिने हैसियतमा पुगेका छन् ।

दिनहु नेपालबाट १५०० भन्दा बढी बिदेशिने युवाका अगाडि उनी एक उदाहरणीय पात्र बन्न सक्छन् । ज्याकब क्याफे नाम राख्ने आईडिया नै उनले विदेशमै बुनेका थिए । नाम मात्र होईन उनको कयाफे बिदेशका क्याफे भन्दा कम आर्कषक छैन । त्यसैले त्यहांँ जाने जो कोहीलाई पनि बिदेशकै क्याफे छिरेको भान हुन्छ । क्याफे अगाडि फूलहरुले सजाइएका छन । लहरै राखिएका बेदका कुर्चीहरु, भित्र शान्त वातावरण , एसीको सुविधाका साथै आर्कषक इन्टेरियर डिजाइन , अलग्गै किचन , बेकरी मेकर मेशिन आदिले उनको क्याफेको हैसियत देखाउँछ । ‘दुई दशक देखिको मेहनतको फल मैले यही क्याफेबाट पाई राखेको छु’ उनी भन्छन् ।
भारत अरुणाञ्चल प्रदेशमा सरकारी नोकरी गर्थे उनका बुवा । ,उनी पनि त्यतै जन्मिए । कक्षा १२ सम्मको औपचारिक शिक्षापनि उतै लिए उनले । स्कुलमा अध्ययनको साथै क्रिकेट खेलमा उत्तिकै रुचि राख्थे उनी स्कुलमा हुने खेलहरुमा कहिल्यै छुटदैनथे । १२ कक्षाको अध्ययन सक्काएपछि बाबु आमाकै सल्लाहमा उनी नेपाल आए । यहांँपनि उनी क्रिकेटमै क्रियाशील भइरहे । राष्ट्रिय स्तरको गेममा उनले विराटनगर, काठमाडौ, भैरहवा, सप्तरी जिल्लामा गई आफ्नौ कौशल देखाइरहे । खेलमा त अव्वल देखिए तर पढाइमा पूर्ण विराम लाग्नेनै भयो ।
पांँचबर्षसम्म क्रिकेट क्षेत्रमा उनले विताए तर उनको आर्थिक अवस्थामा केही सुधार आएन । त्यसपछि यस क्षेत्रप्रति वितृष्णा जाग्यो । ‘ क्रिकेटले जीवन नचल्ने भए पछि यसलाई सधैंको लागि त्याग्ने निधो गरें ’ सुनौलो नेपालसंगको कुराकानीमा उनले भने ।
त्यसबेला उनलाई बेकरी तालिमको मौका आयो । उनका आफन्त सिटीईभिटीका कर्मचारी थिए, आफन्तकै सल्लाहमा उनी सिटीभिटीबाट बेकरी बनाउने तालिम लिन पोखरा हानिए । एकबर्षको तालिम पश्चात उनले त्यही बेकरी बनाउने जागिर पाए ,
‘त्यो जागिर पनि मेरा लागि धेरै दिन टिकेन , विदेश नै मेरो विकल्प बन्यो ’ उनले विदेश जाने सोच बारे खुलाए । पहिलो गन्तव्य बन्यो कतार ।

सन् २००० मा कतार हानिएका उनी त्यहाँ रमाएनन् , तलब पनि निकै कम । पाँच वर्षको कतार बसाईबाट आजित भएका उनलाई सिंगापुरमा काम गर्ने साथीले उतै बोलाए पछि के खोज्छस् काना आँखो भने झै भयो । अनि हानिए सिंगापुर र उनी अनि पाकिस्तानी र चीनीया नागरिकको साझेदारी मा खोलेको ज्याकव क्याफेमा काम गरे । त्यहांँपनि ३ बर्षसम्म काम गर्दा पनि खासै पैसा बचाउन सकेनन उनले । अनि यहीं काम गर्छु भनेर फर्किए आफ्नै देश ।
‘पैसा त मैले कमाउन सकिने तर सीप कमाएर फर्के ’ उनी भन्छन् । उनको मनमा बेकरी खोल्ने सपना थियो आफ्नै ठाउंँमा ।, बल्ल बल्ल स्कुलको जग्गा र सानो टहरो भाडामा पाए उनले । तर लगानी गर्न भने पैसा थिएन ।
संयुक्त परिवारमा जन्मेका उनको पैसा आउने अर्को कुनै बाटो थिएन । उनको सीप र मेहनत नजिकबाट नियालिरहेकी उनकी भाउजुले आफ्नो घडेरी बैंकमा राखेर पांँच लाख ऋण निकालिदिइन । त्यहींबाट उनको जिन्दगीले कोल्टे फेर्यो । त्यतिबेलाको समय त्यो ठाउंँमा फाट्टफुट्ट साना होटल, चिया पसल बाहेक केही थिएन त्यस ठाउंँमा । विदेशमा सिकेको सीप , नयांँ सोच , अनि जांँगरका साथ खोलेको क्याफेले क्रमश ग्राहकको मन खिच्दै गयो । आम्दानीसंँगै पसललाई पनि विस्तार गर्दै लगे उनले । ग्राहककै माग बमोजिम विभिन्न डिजाइनका केक बनाउंँछन उनी। जन्मदिन केक, विवाहउत्सव, बेबी साओर, वेलकम र फेयरवेल केक र अन्य नयांँ डिजाइनका केक लिन दैनिक उनको पसलमा भीड हुन्छ ।
‘अहिले ज्याकव ब्राण्डनै बनिसक्यो , मेरा नियमित ग्राहक पनि धेरैनै पुगे ’ उनी भन्छन् ।
यसको साथै यहांँ ग्राहकको लागि ओपन मःम, लोलीपप र ३५ भन्दा बढी स्वादका कफी आइटम र खाजाका सेटहरुले पनि ग्राहकको मन जितेका छन उनले । शुरुका दिनमा आफै र एउटा हेल्परको भरमा व्यवसाय शुरु गरेका उनले अहिले ९ जनालाई रोजगारी समेत दिएका छन । उनकी श्रीमतीको साथ त छदैछ । ‘श्रीमती ले एकाउण्टको काम हेर्छिन, मत केक डिजाइनमानै ध्यान दिनुपर्छ ’ उनले आफ्नो जिम्मेवारी बारे सुनाए ।
बिदेशमा गएर अर्काको भाडा माझ्नु भन्दा त स्वदेशमै काम गर्द सन्तुष्टी पनि हुने पैसापनि कमाइने व्यवसायले गरेको सफलता यसरी बाड्छन उनी । बिहान ५ बजेदेखि राती १० बजेसम्म क्याफेमै तल्लीन के.सी आफ्नो एकिन आम्दानी बारे हिच्किाउंँदै भन्छन‘ त्यस्तै महिनामा २लाख भन्दा बढी बचाउंँछु ।’ त्यसो त उनले यसैको आम्दानीबाट भरतपुरमा शानदार घर, निजी गाडी जोड्न सफल भएका छन । पैसा र शिक्षालाई पनि राम्ररी बुझेका उनले आफ्ना दुई छोरीहरुलाई राम्रै स्कुलमा समेत पढाएका छन । किशोर अबस्थाबाटनै जीवनको महत्व बुझेका उनले आफूजस्तै साथीहरु बेकाममा हिडेको देखेर भने मन कुडिन्छ उनको । ‘हामी नेपाली एक त अल्छी छौ, अर्कोकुरा बाबुआमाको पैसामा धाक दिन्छौ , यो प्रवृत्ति मलाइ पटक्कै मन पर्दैन ’, उनले असन्तुष्टी पोखे । तरपनि उनले स्थानीय ५० जना भन्दा बढी जनालाई बेकरी तालिम सिकाइसकेका छन । उनी भन्छन ‘मैले सिकाएका केटाहरु कतिले यही उद्योग खोलेका छन , कतिले यहांँका उद्योगमा काम गरेका छन । ’
इच्छाशक्ति , इमानदारीता र लगाव हुने हो भने बिदेशनै जानुनपर्ने उनको बुझाई छ । त्यसैले सीप र कामलाई सधै सम्मान गर्नुपर्ने उनको धारणा राख्छन । यस पेशामा आउने जोकोहीलाई निशुल्क तालिम दिने र रोजगारीको ग्यारेण्टी गरिदिने उनी बताउंँछन। स्वदेशमै मनग्ये आम्दानीसंँगै रमाइरहेका अर्जुन यस पेशालाई निरन्तरता दिदै भविष्यमा अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्ने योजना बनाएका छन ।

बिहि, असार १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस