अनुगमनलाई आक्रामक बनाउदै काठमाडौँ महानगरपालिका, कसैलाई नछाड्ने तयारी

काठमाडौं । बेला बेलामा गरिने अनुगमनले बजारको अवस्थामा सुधार नआएपछि कामपाले अनुगमनलाई नियमित बनाउने भएको छ ।

महानगर क्षेत्रमा भएका अधिकांश पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेपछि अनुगमनलाई तीब्रता दिन लागेको हो । सरोकारवाला निकायको सहकार्यमा कामपाले मासु पसल, किराना पसल, होटल व्यवसाय लगायतमा अनुगमन गर्न लागेको हो ।

दर्ता गर्नु पर्ने, कर तिर्नु पर्नेजस्ता न्युनतम मापदण्ड पनि पूरा गरेका छैनन् । त्यसैले अनुगमनलाई निरन्तरता दिने भएका हौं – महानगरका वरिष्ट जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताउनु भयो ।

कामपाले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनका विरुद्ध सन्देश वितरण गर्दै यस्ता वस्तुको विक्री नगर्न निर्देशन जारी गर्दै अनुगमन शुरु गरेको हो । अनुगमनमा व्यवसाय दर्ता नविकरण भए÷नभएको, साइन वोर्ड राखिएको÷नराखिएको, मूल्य सूची नभए/नभएको, नापतौल प्रमाण पत्र भए÷नभएको लगायतका ११ वटा सूचकलाई आधार हेरिन्छ ।

त्यस्तै खाद्य पदार्थमा कुनै अवाञ्छनिय मिसावट भए÷नभएको, खाद्य पदार्थमा रहेको स्वाभाविक गुण वा उपयोगिता घटाइएको वा स्वभाविक छोडिएको, मानिसले खाने, पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेय पदार्थ खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसलाको प्रयोग लगायतका विषयमा अनुगमन शुरु गरेको हो ।

खाद्य योगशील रंग, सुगन्धले स्वास्थ्यमा हानी हुने गरी सडेको गलेको वा फोहरमैला विषाक्त अवस्थामा राखिएको वा तयार गरिएको, अन्य मिश्रण राखिएको÷राखिएको जस्ता विषयमा अनुगमनले निगरानी गर्ने कामपाका शहरी स्वाथ्य महाशाखा प्रमुख हरीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कामपाले ३२ वटै वडाहरुमा अनुगमनलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने कामको थालनी गरिएको छ । अनुगमनका ३ दिन स्थलगत अध्ययन गरेर तथ्याङ्क संकलन गर्ने, चौंथो १ दिन संकलित तथ्याङ्क छानबिन गरी सुधार सुझाव तयार गर्ने, पाँचौं, छैठौं र सातौं दिन कैफियत देखिएका विषयमा सम्वन्धित व्यवसायीलाई सुधार गर्न, ब्यवसाय बन्द गर्न, कैफियत देखिएका सामग्री बेचबिखन नगर्न निर्देशन सहितको पत्राचार गर्ने प्रक्रिया अवलम्बन गर्ने गरी अनुगमन थालिएको हो । टोलीले बजारमा भएका खाद्य, पशुपंक्षीजन्य तथा सूर्तिजन्य बस्तुको विक्री वितरण, गुणस्तर, मूल्य, करको दायरालगायतका सूचकमा काम गर्ने भएको छ ।

काठमाडौं महानगरको नेतृत्वमा शुरु भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, आपूर्ति व्यवस्थाप विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, महानगर प्रहरी, पशु सेवा कार्यालय, भेटेरीनरी जनस्वास्थ्य कार्यालय, र उपभोक्ताको तर्फबाट उपभोक्ता मञ्चका अधिकारीहरु सहभागी छन् ।

महानगरबासीलाई स्वस्थ्य र ताजा तरकारी, मासु उपलब्ध गराउन उपयुक्त स्थल पहिचान गरी नेपाल सरकारलगायत सरोकारवाला समेतको सहभागितामा क्षेत्रगत रुपमा स्थान पहिचान गरी पशुपंक्षी, माछा तथा तरकारी बजार विकास गरी प्रयोगमा ल्याउने कार्यलाई प्राथमिकता राखेको छ ।

बजारलाई व्यवस्थित गर्नु पर्ने कामलाई महानगरले पहिलो प्राथमिकतामा राखेको सहरी स्वास्थ्य महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।नेपाल समाचार पत्रमा खबर छ ।

बजार ब्यवस्थापन र बिकास कार्यमा नीजि क्षेत्रको सहभागितामा महामारी तथा संक्रामक रोगको रोकथाम गर्न र रोगहरु लाग्न सक्ने समयमा जनचेतनामूलक कार्यक्रमहरुको सञ्चालन गरिनेछ ।

तत्काल महामारी तथा संक्रामक रोग फैलिने सम्भावना देखिएमा वा फैलिएको अवस्था आएमा अवस्थालाई तत्काल नियन्त्रणमा लिन जनस्वास्थ्य विभागका प्रमुखको संयोजकत्वमा एक द्रुत परिचालन इकाइ गठन गर्ने र आवश्यकता अनुसार नेपाल सरकार र अन्य सम्वद्ध निकायसँग समन्वय गरी महामारी तथा संक्रामक रोग रोक्ने संयन्त्र निर्माण गर्ने तयारी रहेको महाशाखा प्रमुख श्रेष्ठको भनाइ छ ।

शनि, असार १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस