विप्लप प्रति कठोर बन्दै सरकार ४० नेता पक्राउ पर्दा पूर्वमन्त्री सहित ६ जनालाई सार्वजनिक अपराध मुद्दा !

काठमाडौं । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ६ जना नेताविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाएको छ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै काठमाडौं प्रहरीले उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार २ दिनअघि पक्राउ परेका ४० जनामध्ये ६ जनाविरुद्ध मुद्दा चलाइएको हो । बाँकीलाई अब आइन्दा आपराधिक क्रियाकलापमा संलग्न नहुने कागज गरेर छाडिएको छ ।

मुद्दा चलाइएकामा पार्टीका नेता तथा पूर्वमन्त्री पदम राई, पोलिटब्युरो सदस्य भरत बम, सम्झना भट्ट (धिरेन्द्र), रणसिंह पुन मगर, एकराज राई र सिद्धान्त राई छन् । यीमध्ये धिरेन्द्र प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट गराउने व्यक्ति हुन् भने एकराज राई स्थानीय निर्वाचनका बेला उदयपुरमा बम विस्फोट गराउने हुन् । सो विस्फोटमा गम्भीर घाइते भएका नेपाली कांग्रेसका उम्मेदवार अहिले पनि उपचारका क्रममा अस्पतालमै छन् ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न विप्लव माओवादीका नेता कार्यकर्ताको खोजी जारी रहने प्रहरीले जनाएको छ । पार्टी संयोजक विप्लव पनि प्रहरीको खोजी सूचीमा छन् ।

 

 

 

सोम, असार १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस