तास मात्रै भित्रिन्छ नेपालमा बार्षिक ११ करोड बढीको, खेल्न कानुनको बन्देज तर बेच्न खुलेआम

सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो- तास।

मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ।

सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरेको छैन।

१० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको खबर आजको नागरिक दैनिकले छापेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो १० महिनामा ६ वटा मुलुकबाट ११ करोड ९५ लाख मूल्यको झन्डै १ करोड १ लाख ६२ हजार प्याकेट तास आयात भएको छ।

यसबाहेक भारतबाट खुला सीमा प्रयोग गरेर हजारौं प्याकेट आयात भइरहेको तासको कुनै लेखाजोखा छैन।

गत आर्थिक वर्षमा तासको आयात चालू आवको १० महिनाभन्दा केही बढी छ। गत वर्ष २०७३/७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको एक करोड ११ लाख तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

मुलुकमा हाल चीन, भारत, मलेसिया, ताइवान, हङकङ, बेलायत र अमेरिकाबाट तास आयात भइरहेको छ। यसमध्ये सबैभन्दा धेरै उत्तरी छिमेकी देश चीनबाट आयात भएको छ। १० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको छ।

चीनपछि परिणामका हिसाबले सबैभन्दा धेरै तास भारतबाट आयात भएको छ। भारतबाट ५७ हजार दुई सय २६ वटा प्याकेट तास आयात भएको छ। भारतबाट आयातित तासको मूल्य झन्डै ३३ लाख रुपैयाँ छ।

मङ्ल, असार १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस