सुस्ताबासीले भत्काई दिए नेपाली जमिन डुबानमा पार्ने भारतीय बाँध !

काठमाडौं, १९ असार । नवलपरासीको सुस्ताबासीले खेतीयोग्य जमिन डुबानमा पार्दै आएको भारतीय गण्डक बाँध भत्काई दिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन् ।

सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । भारतीय नहर व्यवस्थित नहुँदा हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करीब २ सय बिघा धान खेत डुबानमा परेको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल शुरु गरिएको जानकारी दिएका छन् । उनले भने, ‘गण्डक सिंचाइ आयोजनाका डिजी, सुस्ता गाउँपालिका अध्यक्ष, सुरक्षा प्रमुखसहित भारतीय पक्षसँग छलफल शुरु गरेका छौं ।’

भारतीय पक्षले साइफन सफा नगरी दिंदा र ह्युमपाइप अग्लो स्थानमा राखिदिएकाले पानी बगेर नहरमा नखस्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ । वर्षैदेखि सुस्ताबासीले डुबानको समस्या स्थायी रुपमा समाधान गर्न भारतीय पक्षलाई आग्रह गर्दै आएको भए पनि सुनुवाइ हुन सकिरहेको छैन ।

 

मङ्ल, असार १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस