मलेसियन सरकार आक्रामक बनेपछि १२५ नेपाली कामदारलाई पर्यो यस्तो आपत !

काठमाडौं, २१ असार । रोजगारीकालागि मलेसिया पुगेका नेपालीहरुको भिषा म्याद सकिएपछि गैरकानुनी रुपमा बसिरहेका मध्ये १ सय २५ जनालाई नेपाल फर्काइने भएको छ।

मलेसियन सरकारले गैरकानुनी रुपमा लुकेर काम गरिरहेका आप्रवासी कामदारमाथि आइतबारदेखि पक्राउ गर्ने थालेको थियो । सो क्रममा पक्राउ परेका नेपालीलाई त्यहाँस्थति नेपाली दूतावासले फर्काउने तयारी गरेको हो। अन्य नेपालीहरु सम्पर्कमा आइरहेको र अवैध रुपमा बसेकाहरुलाई नेपाल फर्काइने दूतावास कार्यालयले जनाएको छ।

आइतबार र सोमबार मलेसियन सरकारले ३ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ गरेको थियो ।
मलेसियाको गृह मन्त्रालय र अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनि, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट र जलान सिलाङमा धरपकड गरेको मलेसियन सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। नेपाली तथा बंगलादेशका नागरिकले सञ्चालन गरेका होटल र रेस्टुरेन्टहरुमा पनि धरपकड गरिएको थियो।
तर त्यस क्रममा कति नेपाली पक्राउ परे भन्ने खुल्न नसकेको दुतावसले जनाएको छ ।

मलेसिया सरकारले गैरकानुनी कामदारहरुलाई स्वदेश फर्कन आगामी अगस्टसम्मको समय दिएको छ। यसका लागि आममाफी प्रक्रियामा सहभागी हुनका लागि निवेदन दिन गत अप्रिल ५ देखि जून ३० सम्मको समयावधि दिइएको थियो। उक्त प्रक्रियामा सहभागी नभएर लुकिरहेका कामदार पक्राउ गर्न सरकारले विशेष अभियान चलाएको हो।
मलेसियामा करिब १ लाख नेपालीले गैरकानुनी रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ।

 

बिहि, असार २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस