डा गोविन्द केसी संगको सहमतिलाई लिएर काँग्रेसले फेरी गर्यो संसद अवरुद्ध !

११ साउन, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच भएको सहमति सदनलाई जानकारी गराउन माग गर्दै प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।

बैठकको सुरुमा नै कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिए । उनले सरकार र डा. केसीबीच भएको सहमति जनताको जित भएको बताए र यसलाई संसदको सम्पत्ति बनाउन माग गरे ।

लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्दै डा. केसीसँग सहमति भएको बताए । मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि थप जानकारी दिने उनले बताए ।

तर, कांग्रेस सांसदहरुले केके विषयमा सहमति भयो जानकारी दिन माग गरे । मन्त्री पाखेरेलले सहमतिपत्र नै संसदमा टेबल गरे तर, कुनकुन विषयमा सहमति भएको हो बताएनन् ।

कांग्रेस सांसदहरु फेरि उठे । उनीहरुले सहमति पत्र आफूहरुलाई उपलब्ध गराउन माग गरे ।

सभामुखले सहमति पत्र संसदमा टेबल भएको र केहीबेरमा उपलब्ध गराउने भन्दा पनि कांग्रेस सांसदहरु मानेनन् र संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

 

शुक्र, साउन ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस