जब मुख्यमन्त्री माओबादीको ब्यारेकमा फर्किए….

भदौ १० तत्कालिन नेकपा माओवादीले जनयुद्ध गर्दा महेन्द्रबहादुर शाही जनमुक्ति सेनामा थिए ।शान्ति प्रकृयामा आएसँगै खुल्ला राजनीतिमा होमिएको माओवादीका तर्फबाट शाही उर्जा मन्त्री पनि बने ।देश संघीयतामा गएसँगै उनी कणाली प्रदेशका मुख्यमन्त्री बनेका छन् भने उनको दल माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण भएर नेकपा बनेको छ ।माओवादी शान्ति प्रकृयामा आएपछि देशका विभिन्न भागमा शिविरहरु राखेर माओवादी लडाकुलाई राखिएको थियो । यसैमध्येको एक हो पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका अन्र्तगत दशरथपुरमा रहेको तत्कालीन माओवादी लडाकुको शिविर ।

उक्त शिविरमा मुख्यमन्त्री भएपछि शाही पहिलो पटक पुगेका छन् ।मुख्यमन्त्री शाही, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सहितको टोली लडाकुको शिविरमा पुगेका छन् ।मुख्यमन्त्री शाहीले तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएको बेला करिब २ वर्ष उक्त व्यारेकको नेतृत्व गरेर विताएका थिए ।आइतबार विहानै मुख्यमन्त्री शाही दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्रमा अत्याधुनिक नर्सरी स्थापना गर्ने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना अनुरुप मुख्यमन्त्रीसहितको टोली त्यहाँ पुगेको थियो । मुख्यमन्त्री शाही सेना समायोजन पछि पहिलोपटक दशरथपुर पुगेका हुन् ।

यहाँको माटोसँग इतिहास जोडिएको छ’ उनले भने, ‘यो इतिहासको संरक्षण गर्न जरुरी रहेको छ ।’ उनले आफूले नेतृत्व गरेका बेला विदेशी विद्यार्थीहरुले लडाकुबारे अनुसन्धान गरेको बताउँदै यहाँ रहेका सबै संरचनाहरुलाई संरक्षण गर्ने बताए । ‘विदेशीले समेत अनुसन्धान गरी शिक्षा प्राप्त गरेका छन्’ उनले भने, ‘यसलाई पर्यटकीय गन्तब्यको रुपमा चिनाउन जरुरी छ ।’मन्त्री केसीले व्यारेकहरु खण्डहरमा परिणत भएको बताउँदै सरकारले यसको संरक्षण गर्ने बताईन् । ‘हरेक संरचना करिब करिब खण्डहर भएका छन्’ उनले भनिन, ‘गर्विलो त्यो इतिहासलाई बचाउनु प्रदेश सरकारको दायित्व हो र हामी त्यसका लागि आवश्यक कार्य गर्न तयार छौं ।’

 

आइत, भदौ १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस