नेकपा नेताले बाबुको काज-किरिया गर्न नमानेपछि…

सर्लाहीको हरिपुरमा मृत्यु संस्कारका विषयमा स्थानीय बासिन्दा दुई खेमामा विभाजित भएका छन्।हरिपुर-२ का ध्रुव कार्कीले आफ्ना बुबाको काजकिरिया परम्परागत ढंगले गर्न नमानेपछि बहस सिर्जना भएको छ। कार्कीका बुवा नारायणबहादुर कार्कीको ५ असोजमा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो।

बुवाको मृत्युपछि स्थानीय बागमती नदीमा दाह संस्कारमा सहभागी भएका कार्कीले त्यसपछिका मृत्यु संस्कारका परम्परागत कर्म गर्न माननन्। आफूलाई परम्परागत मृत्यु संकारमा विश्वास नभएकाले काजकिरियामा सहभागी नभएको उनले बताए।बुबा बित्नुभयो, शोकमा छु,’ कार्कीले भने, ‘तर मलाई परम्परागत रुपमा गरिँदै आएको मृत्यु संस्कारमा विश्वास नभएकाले जुठो बारेर कोरामा नबसेको हुँ।’कार्कीका भार्इ विष्णु कार्की, आमाकृष्ण माया कार्कीसहितका परिवारका अन्य सदस्य भने परम्परागत रुपमा कोरामा बसेका छन्। उनीहरुले नुन बारेका छन्, सेतो कपडा पहिरिएका छन्। घरनजिकै ढिकुरो उठाइएको छ। दिनहुँ पण्डितले मृत्यु संस्कारका कर्म गरिरहेका छन्। घरमा गरुण पुराण वाचन सुरु भएको छ।

तर कार्की र उनकी पत्नी आशा गिरि भने ती कुनै पनि क्रियाकलापमा सहभागी छैनन्। काजकिरिया चलिरहेको भाइको घरभन्दा करिब चार सय मिटर टाढा उनीहरु भाडाको घरमा सामान्य ढंगले बसेका छन्। तत्कालीन माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य कार्की नेकपाको राजनीतिमा क्रियाशील छन्।

कार्कीले आफू बसेको ठाउँमा बुबाको फोटो राखेका छन्। फोटोमा माल्यार्पण गरिएको छ। आगन्तुकका लागि श्रद्धाञ्जली पुस्तिका राखिएको छ। आगन्तुकले स्वर्गीय कार्कीको तस्वीरमा फूलअविर राखेर श्रद्धाञ्जली अर्पण गर्छन्। शोक व्यक्त गर्न पुग्ने आफन्त, छरछिमेकी र पार्टीका नेताकार्यकर्ता दुवैतिर जाने गरेका छन्।कार्कीले परम्परागत मृत्यु संकार बोझिलो भएकाले त्यसलाई परित्याग गर्नुपर्ने बताए। ‘आफन्तको मृत्युले परिवारका सदस्य पिडामा हुन्छन्,’ कार्कीले भने, ‘परम्परागत मृत्यु संस्कारले पिडामाथि झन् पीडा थप्ने काम गर्छ। मैले बुबाको मृत्यु संस्कार नगरेर आफ्नो मृत्यु संस्कार पनि परम्परागत रुपमा नहोस् भन्ने सन्देश दिन खोजेको हुँ।’

उनले मृत्यु संस्कारमा गरिने दान, दक्षिणासहितका क्रियाकलाप फजुल खर्च भएको बताए।कार्कीले परम्परागत रुपमा मृत्यु संस्कार नगरेकामा कतिपयले चर्को आलोचना गरेका छन्। सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन्। कतिपय कार्की दाजुभाइले उनलाई समाजबाटै बहिस्कार गर्नुपर्नेसम्मको धम्की दिएका छन्।कतिपयले ८ दिन अथवा १० दिनमै भए पनि कार्कीलाई कोरामा बसेर बुवाको काजकिरियामा सहभागी हुन सुझाव दिइरहेका छन्। कोरामा नबसे पनि १३ औँ दिनमा गरिने संस्कारमा मात्र भएपनि सहभागी हुन आग्रह गरिरहेका छन्।

तर, कार्कीले भने परम्परागत रुपमा गरिने कुनै पनि क्रियाकलापमा सहभागी नहुने अडान लिइरहेका छन्।तत्कालीन माओवादी केन्द्रका जिल्ला अध्यक्ष कमल बुढाथोकीले कार्कीले बुबाको मृत्यु संस्कार परम्परागत रुपमा नगरेर समाजमा ठीक सन्देश दिएको बताए। ‘बोझिला, रुढिवादमा आधारित संस्कारहरु छोड्दै जानुपर्छ,’ बुढाथोकीले भने।तर, कार्कीका आफन्त बिप्लव कार्की, गोविन्द कार्की लगायतले भने उनलाई सामाजिक बहिस्कार गर्नुपर्ने धम्की दिइरहेका छन्।म मुडुला कार्की कुलायन व्यवस्थापन क्षेत्रीय समितिलाई, ध्रुव कार्कीलाई कुलबाट बहिस्कार गर्न अपिल गर्दछु,’ विप्लव कार्कीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।

बुध, अशोज १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस