निर्मलालाई न्याय दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग्दै शुरु भयो आन्दोलन

गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन भएको छ। ‘निर्मलाका लागि न्याय’ नामक अभियानले बुधबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हुन्।

त्यसक्रममा उनीहरुले मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढ्दै जाँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

प्रर्दशनकारीहरुले निर्मला पन्तको हत्या सम्बन्धी उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन्।

सरकार बलात्कारी सामू झुक्दै गएको प्रर्दशनकारीहरुको आरोप छ। निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै देशभर सरकारविरुद्ध दैनिक प्रर्दशन हुँदै आएका छन्।

बुध, अशोज १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस