मलाई देशले हैन आफ्नै महत्वाकांक्षाले लखेटेको हो परदेश

मेरा हजुरबाले राणा शासन भोग्नु भयो तर हजुरबाले बुबालाई यो शासनले गर्दा हामीले दु:ख पायौं भनेर गुनासो सुनाएको सुनिएन । किनकि मेरा हजुरबा सिधा आफ्नो श्रम गरेर खाने वर्गको हुनुहुन्थ्यो । बुबाको यौवनकाल पञ्चायत शासनमा बित्यो बुबाले पनि यो शासनले गर्दा मैले यसो गर्न पाइन भनेर कहिल्यै गुनासो गरेको सुनिएन ।किनकि बुबालाई पनि आफ्नो दु:ख गरिखानु बाहेक राज्यसँग नेतासँग मन्त्रीसँग कुनै लेनदेन थिएन । त्यसैले राज्यले मलाई यहाँनेर सतायो यसो गर्न दिएन भनेर कहिल्यै दुखेसो रहेन । म लोकतन्त्रमा शयर गर्दैछु । मलाई पनि मलाई राज्यले यो दिएन, यो खोस्यो , हरियो पासपोर्ट थमाएर खाडी लखेट्यो भनेर राज्यलाई गाली गर्दै रुनु छैन । राणाहरुले हजुरबालाई सताएनन् ,पञ्चेहरुले बालाई सताएनन् , माओवादी र आर्मी पुलिसले मलाई सताएनन् । तीनवटा ब्यबस्थाको तीनवटा शासन भोगेको हाम्रो तीन पुस्तालाई राज्यले केही नदिए पनि केही खोसेको पनि छैन । त्यसैले कसैसँग गुनास्रो छैन ।

मलाई राज्यले ,नेताले, मन्त्रीले परदेश लखेटेको हैन । आफ्नै उच्च महत्वकांक्षाले लेखेटेको हो । नत्र गाउँमै पनि दु:खमेलो गरेर आफ्नै पाखो बारी खनिखोस्री गरेर दुई छाक खान मनग्य पुग्ने थियो । मेरो सातौं पुस्तासम्मका बाजे बराजु, उनीहरुका ३/४ वटी श्रीमती र दर्जनौं सन्तानलाई त्यही माटो पर्याप्त थियो तर मलाई भने जेनतेन पास गरेको SLC को सर्टिफिकेट हातमा हुने बित्तिकै त्यो माटो उजाड लाग्न थाल्यो । लहलह अन्न फल्ने ती खेतबारी पाखो जस्ता लाग्न थाले ।ढिंडो र रोटी दिङमिङ लाग्न थाल्यो । बाले लगाएको धोती फालेर पाएन्टको जिपर लगाउन जान्ने बित्तिकै त्यो सुगन्धित माटो गनाउन थाल्यो अनि गाउँ छोडेर शहर पसें।

शहरमा अनेक संघर्ष पश्चात् ढिंडो बाट मन्सुली चामलको औकात बन्यो । त्यसपछि त्यो मन्सुली चामल पनि खस्रो लाग्न थाल्यो । देशको शहर सानो लाग्न थाल्यो, फोहोर लाग्न थाल्यो ,कोठाको बसाइ निसास्सिंदो लाग्न थाल्यो र काठमाडौको घर बनाउने सपनाले मैले आफैंले परदेश रोजेको हो । जे गरेपनि आफ्नै देशमा गर्छु भनेको भए मलाई राज्यले कुनै तगारो हालेको थिएन ,कतै अप्ठ्यारो पारेको थिएन ,श्रम गरि खान रोकेको पनि थिएन । कुनै नेता या मन्त्रीले पासपोर्ट हातमा थमाइदिएर एअरपोर्टमा लगेर धकेलेर प्लेनभित्र हुल्दिएको थिएन । गाउँमा बाले पनि निर्धक्क आफ्नो श्रम गरेर खान पाउनु भएकै थियो ,शहरमा मैले पनि आफ्नो क्षमता अनुसारको काम गर्न कसैले रोकेको थिएन ।

पाएन्ट लगाउन जानेपछि गाउँको माटो मलाई नै गनाएको थियो । शहरमा मन्सुली चामलको औकात बनाएपछि घाँटी मेरै बिझाएको थियो । गाउँमा मलाई हलो कुटो कोदालो समाउदा मेरो SlC को सर्टिफिकेटले खिज्याए जस्तो लाग्यो ,काठमाडौमा सिकर्मी डकर्मी , हातमा कालो मैलो लाग्ने मेन्टेनेन्स, टेक्निसियन बन्नुपर्दा मेरो आइ ए को सर्टिफिकेटले मजाक उडाए जस्तो लाग्यो । विदेशमा १२ घन्टा चौकीदारी गर्न सकें ,देशमा आमाले १ घन्टा बिस्कुन रुग्न अह्राउँदा छट्पटी भयो । परदेशमा दुनियाँको ट्वाइलेट सगर्व सफा गरें ,देशमा ५०० बोइलरका चल्ला हुर्काउँदा मलाई सुली गनायो ।

पहिले पहिले लाग्थ्यो देश बिग्रनुमा नेताको मात्रै हात छ ,अहिले सोच्छु सबैभन्दा ठुलो हात त मेरै रहेछ । मैले मेरो जन्मेको माटोलाई के दिएँ ? मैले मेरो कर्मभूमीलाई के दिएँ ? देशको चिन्ता गरेको नाममा नेतालाई तुच्छ गाली गर्नु बाहेक मैले अरु के गरें ? नेता पनि मान्छे नै हुन् प्रोत्साहन हौसला स्याबासीले उनीहरूलाई पनि उर्जाशील बनाउँछ तर मैले आजसम्म कुन नेतालाई जस दिएँ ? कसैले गरेको राम्रो कामको निम्ति कहिले धन्यवाद दिएँ ?

म ६ महिना अगाडि देखि नयाँ कम्पनीमा काम गर्दैछु, मैले यहाँ ५०० जना कर्मचारीको नेतृत्व गर्नुपर्छ । यो ६ महिनामा मैले यी ५०० मध्ये आधालाई पनि चिन्न र बुझ्न सकेको छैन । उनीहरूको अपेक्षालाई ५० प्रतिशत पनि सम्बोधन गर्न सकेको छैन ।म अझै उनीहरूलाई चिन्ने बुझ्ने र उनीहरूको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने क्रममै छु । जब यस्ता समस्यासँग मैले साक्षात्कार गर्नुपर्दा मलाई यति गाह्रो हुँदोरहेछ भने मैले मेरा मन्त्रीहरुलाई मन्त्री भएको दुई महिना नबित्दै हाम्रो अपेक्षा पुरा भएन भनेर कसरी गाली गर्न थालें ? मैले कहाँनेर धैर्यता देखाएँ ? कहाँनेर आशावादी बनें ? कहाँनेर सकारात्मक सोचें । देश बनाउन फेसबुकमा स्टाटस लेखेजस्तो सजिलो पटक्कै नहुँदो रहेछ ।

आजकाल लाग्दैछ देश नेता र मन्त्रीको भन्दा धेरै हात मेरो पो रहेछ । तपाईंको त पक्कै मेरो जस्तै नकारात्मक सोच पक्कै थिएन होला है ? एकपटक सोच्नुस् त ?

यत्तिबेला आएर अलिअलि बुझें – सधैंभरि अँध्यारोलाई सरापेर बस्नु भन्दा सानो भएपनि टुकी जलाउनु बेस , समाधान बिनाको समस्या मात्रै औंल्याएर क्रान्तिकारी देखिनुभन्दा कि त विकल्प दिनु कि विश्वास गर्नु बेस

भवतु सब्ब मंगलम्
युएईबाट

बिहि, अशोज २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस