निर्वाचित जनप्रतिनिधि ३७ किलो चरेस सहित पक्राउ

१८ कात्तिक, रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत छन् ।

पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी छन् । रास्कोटी पाणिनी गाउँपालिका-५ का वडा सदस्य हुन् ।

शनिबार राति करीब ८ बजेको समयमा उनीहरुलाई बुटवल उपमहानगरपालिका-१३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चरेससहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको थियो । उक्त चरेस नेपाली मूल्यमा करीब १८ लाख बराबरको हुनसक्ने प्रहरीको अनुमान छ ।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस