किन बाहिरिए देउवा जसको कारण आज पनि हुन सकेन भाबी प्रधानन्यायाधीशको छनोट !

भावी प्रधानन्यायाधीश सिफारिस गर्न सोमबार बोलाइएको संवैधानिक परिषदको बैठक विषय प्रवेश गरेलगत्तै स्थगित भएको छ।पाँच नयाँसहित ८ आयोगका विषयमा पनि निर्णय गर्ने तयारी सहित उक्त बैठक बोलाइएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय समिति बैठक रहेकाले सबै विषयमा छलफल गर्न नभ्याइने भन्दै बाहिरिएका थिए। देउवा बाहिरिएपछि बैठकमा थप छलफल अगाडि बढेन्।प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १६ गते सकिँदैछ। त्यसको एक महिना अघि नै संवैधानिक परिषदको बैठकले भावी प्रधान न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। सिफारिसपछि संसदीय सुनुवाइको प्रक्रिया सुरु हुन्छ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम रोस्टरअनुसार पठाएको छ। यी दुईमध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने भएकाले सबैको चासो परिषदको बैठकमा थियो।यसअघि पनि सिफारिस गरिएका जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएकाले परिषदले अब के गर्छ भन्ने चासो सबैमा छ। प्रधानन्याधीशले अवकाश पाउनुभन्दा एक महिना अघि नै सिफारिस गर्नुपर्ने प्रावधान छ।

सोम, मंसिर १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस