समितिमा पर्यटन मन्त्रीको जबाफ वाइडबडीमा अनियमितिता भएको छैन !

काठमाडौँ वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गम्भीर नभएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीप्रति सांसदहरु आक्रोशित भएका छन्।

बुधबार संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिन बोलाइएका मन्त्री अधिकारीले वाइडबडी खरिद प्रक्रियामा अनियमितिता नभएको र यस विषयमा लेखा समितिले सहयोग गर्नुपर्ने भनाइ राखेपछि उनीप्रति सांसदहरुको आक्रोश पोखिएको हो।सांसदहरुले मन्त्री अधिकारीलाई ‘तपाईँले कत्ति पनि गम्भीरता प्रकट गर्नुभएन’ भन्दै आक्रोश पोखेका थिए।लेखा समितिमा आएर विद्यार्थी नेताको जस्तो भाषण गरेर हुन्छ ? तपाईको पद अनुसारको जिम्मेबारी लिन सक्नुपर्छ कि पर्दैन?’ सांसद ह्दयेश त्रिपाठीले भने, ‘लेखा समितिले सहयोग गर्नुपर्‍यो भनेको के हो ?’

अर्का सांसद अमनलाल मोदीले पनि मन्त्री अधिकारीको समितिले सहयोग गर्नुपर्‍यो भन्ने अभिव्यक्तिप्रति चर्काे आक्रोश पोखे।समितिले सहयोग गर्ने भनेको के हो ? हामीले भ्रष्टाचार गरेका छौँ, छानबिन नगरदिए हुन्थ्यो भनेको हो कि भ्रष्टाचारलाई अनुमोदन गरिदिनुहोस् भनेको हो? यदि त्यसो हो भने मन्त्रीज्यू तपाईँ मन्त्रालबाट लेखेर पठाउनुहोस् हामी अनुमोदन गरिदिन्छौँ मोदीले भने।

यस्तै सांसद तेजुलाल चौधरीले पनि वाइडबडी खरिद प्रक्रियामा मुछिएकाहरुलाई नै छानबिन समितिमा राखेको भन्दै विरोध जनाए।मन्त्रालय आफैले छानबिन समिति बनाउने ? त्यो समिति मार्फत तपार्इँले कस्तो परिणाम निकाल्नुहुन्छ ? यसमा मेरो ठूलो आपत्ति छ उनले भने ।सांसद मिनेन्द्र रिजालले पनि मन्त्री अधिकारीले अत्यन्त निराशाजनक जवाफ दिएकोमा आफूलाई दुःख लागेको बताए ।

 

बुध, मंसिर १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस