सरकार सहयोगी बनेर धुर्मुस सुन्तलीसंगै क्रिकेट रङ्गशाला निर्माणमा जुट्छ : प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् ।

फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न बुधबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्तरीय रङ्गशाला मैदान नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुन नसेकेकोले यस्तो मैदानको आवश्यकता रहेको धारणा व्यक्त गरे । ‘अहिले हामीकहाँ भएका मूलपानी र त्रिवि क्रिकेट मैदान काम चलाउ मात्रै छन्, त्यसैले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला आवश्यक छ, भएकाको पनि स्तरोन्नति आवश्यक छ’, उनले भने ।

खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालीन अवस्थामा खेल जितेर (लिगलिगे दौड) राज हुने परम्पराको स्मरण गरे । नेपाल अब समृद्धितर्फ अघि बढिसकेको कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई समेत बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियान अब साकार हुँदै जाने बताए । उनले ठेकेदार भागेकाले मेलम्ची समयमै काठमाडौँ ल्याउन नसकिएको बताउँदै ठेकेदार कम्पनीसँग केही दिनभित्रै वार्ता हुने र मेलम्चीको काम अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । सरकार वार्ता र संवादबाटै अगाडि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र कमजोर भयो भनेर हल्ला फिँजाउनु दुर्भाग्य भएको बताए ।

 

हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन 

बिहि, माघ १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस