चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिँदै

चितवन, माघ २५–

चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिएको छ । ट्राफिक प्रहरीले सचेतनामुलक अभियान अन्तरगत आज (शुक्रबार) भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा सवारीको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य परीक्षण गरिएको छ । भरतपुर आँखा अस्पताल र भरतपुर अस्पतालका चिकित्सकहरुले चालकहरुको आँखाको साथै अन्य स्वास्थ्य परीक्षण गरेका थिए । यस्तै बसमा रहेका बस र ट्याक्सीको यान्त्रिक परीक्षण गरिएको थियो । धेरै दुर्घटनाहरु सवारी चालकको स्वास्थ्य र सवारी साधनको खराबीका कारण हुने भएकोले यस्तो कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताए ।
उनले भने–“यस्तो कार्यक्रम प्रभावकारी बन्दै गईरहेको छ, सवारी चालकमा सचेतना पु¥याउन कार्यक्रमलाई निरन्तरता दिँदै आएको छौं ।”ट्राफिक प्रहरीले यसअघि पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न भागमा परीक्षण कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय राष्ट्रिय सुरक्षा तथा ट्राफिक निकायका प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुशिल सिंह राठौंर, ट्राफिक प्रहरी ३ नंं प्रदेश प्रमुख नविनराज राईले सवारी चालकहरुले लापरवाही गर्दा धेरै दुर्घटनाहरु बढेको भन्दै सचेत हुन आग्रह गरेका थिए । उनीहरुले सवारी चालक आफै सचेत नहुँदा सम्ममा दुर्घटना न्यूनीकरण गर्न धेरै समस्या पर्ने भएकोले चालकहरुलाई सचेत गराएका थिए । कार्यक्रममा भरतपुर अस्पतालका मेसु कृष्णप्रसाद पौडेल, नेपाल राष्ट्रिय यातायात व्यवसायि महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी, भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे, चितवन अटो मेकानिकल व्यवसायी संघका गोपाल भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रदेश ३ अन्तरगतको चितवन प्रदेश भित्रमै सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा पर्दछ ।

शुक्र, माघ २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस