दामनमा भीषण हिमपात जनजीवन प्रभावित

दामन, २६ माघ

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपनि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । “यतिधेरै हिउँ मैले यहाँ पहिलोपटक देखेको हुँ”, स्थानीय विजय कार्कीले भने, “हिउँ परेपछि यहाँ खेलेर रमाउने पर्यटक धेरै आउँछन् ।” कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् ।

हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दूरीका यात्रु बोक्ने सवारीसाधनमा भने कमी आएको छ । हिउँ तथा वर्षाका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।

एभरेष्ट पानोरोमालगायतका होटल तथा रिसोर्टमा पर्यटक जम्मा हुने क्रम बिहानैदेखि थपिँदै गएको छ । अघिल्लो दिन आइपुगेकाले भने रातिदेखि नै हिउँसँग रमाइलो साटेका थिए । त्यस क्षेत्रमा हिउँ परेपछि आसपासका चित्लाङ, टिस्टुङ, बज्रबाराहीलगायतका क्षेत्रमा चिसो बढ्दै गएको छ ।

दामनमा हिउँ खेल्न काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथबाट करीब तीन घण्टामा दामन पुगिन्छ । त्यस्तै वीरगञ्ज, हेटौैंडा, चितवनबाट समेत सहजै दामन पुगेर हिउँ खेल्न सकिने पुगेका पर्यटकहरु बताउँछन् । त्यस क्षेत्रबाट आज बिहानैदेखि हिउँ खेल्नका लागि आउने पर्यटकले होटल ‘बुकिङ’ फोनबाट गरिरहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिएका छन् ।
दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशङ्करलगायतका हिमाल तथा हिलश्रृङ्खलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् ।

दामन समुन्द्री सतहबाट दुई हजार ४८८ मिटर अग्लो उचाइमा छ । रासस

शनि, माघ २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस