अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबीचको दोस्रो भेटवार्ताको तयारी तीव्र

वासिंटन, माघ २६ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको दोस्रो भेटवार्ताको तयारी तीव्र पारिएको छ ।

यही फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने शीर्ष नेताहरुको वार्ताका लागि दुवै देशले तयारी तीव्र पारेका हुन् । वार्ताको तयारीका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टिफन बेगनले तीन दिने प्योङयाङ भ्रमण गरे ।

विशेष दूत स्टिफनले उत्तर कोरियाका समकक्षी किम योक–चोलसँग वार्ता गरेका थिए । दुई अधिकारीबीच गत वर्ष ट्रम्प र किमबीच सिंगापुरमा भएको पहिलो ऐतिहासिक वार्तामा गरिएका प्रतिबद्धता कार्यान्वयनका पक्षमा भएका प्रगति र गर्नुपर्ने कामबारे कुराकानी भएको बताइएको छ । उनीहरुबीच शीर्ष नेताहरुबीच हुने दोस्रो भेटवार्ता प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा समेत छलफल भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनामको हनोइमा वार्ता हुने घोषणा गरिसकेका छन् । शान्ति स्थापनाका लागि आगामी वार्ता प्रभावकारी बन्ने आशा ट्रम्पले व्यक्त गरेका छन् ।

सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । (एजेन्सी)

शनि, माघ २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस