सौराहामा फुड फेष्टिबलको रौनक बढ्यो

चितवन, माघ २९-

चितवनको पर्यटकीय नगरी सौराहामा फुड फेष्टिबलको रौनक बढेको छ ।

फुड फेष्टिबलमा हुने खानाको स्वाद लिन र गीत संगीतसँग रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु आउन थालेको संयोजक ध्रुव गिरीले जानकारी दिए । सोमबारबाट फेष्टिबल सुरु भएपछि सौराहामा पर्यटकको चहलपहल सुरु भएको हो ।

फुड फेस्टिबलमा व्यवसायीहरुले सौराहालाई सजाएका छन् । होटलहरु बुक भइसकेका छन् । सौराहाका होटल तथा रेष्टुरेन्टहरु भरिभराउ छन् । फेष्टिबलको अवसर पारेर व्यवसायीहरुले होटल तथा रेष्टुरेन्टमा छुटको व्यवस्था गरेका छन् ।

खाना र आवासमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । फुड फेष्टिबलको सांगीतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । आज साँझ लोक तथा दोहोरीतर्फ देवी घर्ती, बसन्त थापा, शिवहरि ढुंगाना, अर्जुन सापकोटा, डिबी लोप्चन र पप तर्फ आस्था राउतको प्रस्तुति रहने रेवानका नविन नेपालले जानकारी दिए । रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाले आयोजना गरेको सो फेष्टिबल फागुन ३ गतेसम्म चल्ने छ ।

मङ्ल, माघ २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस