नारायणगढमा २५ लाख रुपैयाँको ट्राफिक लाइट जडान

भरतपुर, फागुन १५-

चितवनको व्यस्त बजार नारायणगढमा परीक्षणका लागि ट्राफिक लाइट जडान सुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा ट्राफिक लाइट जडान गर्न सुरु गरिएको हो ।

सम्पूर्णरुपमा सञ्चालन हुने गरी एक हप्ताभित्र जडानको काम सम्पन्न गरिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। उनले भने, “जिल्लामा नै पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो, शहीदचोकमा परीक्षण गर्छौं र त्यसको प्रभावकारिताका आधारमा अन्य व्यस्त चोकमा पनि ट्राफिक लाइट जडान गर्छौं ।” महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा ट्राफिक लाइट जडान गरिएको उनले बताए ।

करिब २५ लाख रुपैयाँको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने छ । अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने छ । ट्राफिक लाइट जडानका लागि महानगरले २०७५ साल जेठमा यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको थियो । शहीदचोकमा जडान गरिएको ट्राफिक लाइट प्रभावकारी भए क्रमशः पुल्चोक, लायन्चोक, चौबिसकोठी र हाकिमचोकमा पनि जडान गरिने बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले ट्राफिक लाइट जडानपश्चात् ट्राफिक व्यवस्थापनमा सहजता हुने बताए । “कहिलेकाहीँ पुल्चोकदेखि शहीदचोक सम्मै ट्राफिक जाम हुने गरेको छ”, उनले भने, “ट्राफिक जनशक्तिको अभाव अब लाइटले पूरा गर्छ ।” जिल्लाभर ४५ मात्र ट्राफिक प्रहरीको दरबन्दी छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ क्षेत्र भएर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । रासस

बुध, फाल्गुन १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस