बुढेसकालका साहारा बनेका पूर्वमन्त्री अधिकारीको निधन

काठमाडौं : पूर्वअर्थमन्त्री तथा वयोवृद्ध कम्युनिस्ट नेता भरतमोहन अधिकारीको शनिबार निधन भएको छ। अधिकारीको ८२ वर्षको उमेरमा राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अधिकारी गत माघ २४ देखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

अस्पतालले अधिकारीलाई शनिबार बेलुकी ९ बजेर ३५ मिनेटमा निधन भएको घोषणा गरेको हो। अस्पतालले अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जानकारी दिन शनिबार दिउँसो पत्रकार सम्मेलन गरेको थियो। अधिकारी लामो समयदेखि दम, मुटुरोग र उच्च रक्तचापबाट पीडित थिए। अधिकारीको उपचारमा वरिष्ठ फिजिसिएन डा. अर्जुन कार्की, डा. भगवान कोइराला, मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी, डा. हेमराज पनेरुलगायत संग्लग्न थिए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्तका अनुसार शुक्रबार दिउँसोदेखि अधिकारीको पिसाब बन्द भएको थियो। साथै उनको रक्तचाप बढाउन औषधि प्रयोग गरिएको थियो। सिक्किम र दुबईमा रहेका उनका छोरीहरू झिकाएर परिवारका सदस्य, नेकपाका वरिष्ठ नेताहरूसँगको छलफलपछि अस्पतालले नेता अधिकारीको निधनको औपचारिक पुष्टि गरेको थियो।

पछिल्लोपटक उनी गत पुस २३ देखि अस्पतालमा भर्ना भएका थिए। सुरुमा उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा राखिए पनि माघ २४ मा ह्याम्समा सारिएको परिवारका सदस्यहरूले जनाएका थिए।

आइत, फाल्गुन १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस