मसाल महामन्त्रीलाई खुल्ला पत्र भाग-३

कमरेड महामन्त्री,
नेकपा(मसाल)
केन्द्रीय समिती

महामन्त्री कमरेड, नेकपा(मसाल) को आठौं महाधिवेशन नजिकिए सङ्गै मसाल भित्र भारतिय खुपिया एजेन्सी ‘रअ’ को चर्चा र त्यसले पार्टीमा फुट पार्ने सम्भावनाको बारेमा तपाइको पार्टीमा गर्मागर्मी त भएकै छ । तपाइका कार्यकर्ताहरु सामाजिक सन्जालमा छताछुल्ल पोखिएका छन ।

बागलुङमा तपाइले तपाइका पार्टी कार्यकर्तालाई दिएको प्रशिक्षणमा ‘रअ’ ले पार्टी फुटाउन खोज्दैछ भनेर दिएको अभिव्यक्ती माघ ५ गते वेलुका अन्नपूर्ण पोष्टको अनलाइन सस्करणमा पढन पाएको थिए । मलाई त्यो बेला निकै आश्चर्य लागेको थियो । नेकपा(मसाल) जस्तो एउटा क्रान्तिकारी पार्टीमा पनि ‘रअ’ को चलखेल !? भनेर म तीन छक परेको थिए ।

त्यस पछि मैले त्यस बारेमा तपाइको पार्टीका भुतपुर्व नेताहरुसङ्ग सम्पर्क गरे, ती मध्ये कोहि तपाइको पार्टीमा निश्क्रीय छन त कोहि अन्य पार्टीमा नेता नै छन । त्यो सङ्गै तपाइको पार्टीका नेताका केही अन्तरवार्ताहरु पढे । त्यस आधारमा तपाइको पार्टीको आधिकारिक पत्रीका हाक साप्ताहिकमा मिति २०६८ साल श्रावण १८ गतेको कमरेड दुर्गा पौडेलको एउटा ‘म वषौंदेखि झुट्टा प्रचारद्वारा प्रताडित हुँदै आएकी छु, तर निराश र हतोत्साहित छैन’ भन्ने शिर्षकको लामो अन्तरवार्ता मेरो हातमा पर्‍यो । त्यो राम्रोसङ्ग अध्ययन गरे । त्यस पछि लाग्यो तपाइको पार्टीमा गम्भीर समस्या रहेछ, जुन कुरा हिजो म यो पार्टीमा सक्रीय रहने समयसम्म अनभिज्ञ थिए ।

उक्त अन्तरवार्तामा कमरेड दुर्गा पौडेलले पार्टी महामन्त्रीको स्वीकृती लिएर मान्छेहरु अमेरिका पठाउने काम गरेको, दलालले ठगेको, त्यो दलाल नेपाल सरकारको सि.आ.डि. भएको, अल इन्डिया मेडिकल कलेजमा स्कलरशिपमा मान्छेहरु पठाउनको लागि पार्टीका नेताहरुका छोराछोरी त्यहाँ पढाउनको लागि उक्त कलेजलाई डोनेशन दिनुपर्ने नाममा उक्त कमरेडहरुसङ्ग पैसा लिएको, लगाएत अनेकौं किसिमका फोहोरका डङ्गुरमा महामन्त्रीको हात रहेको प्रष्ट हुन्छ ।

कुरो त्यति मात्र सिमित छैन महामन्त्री कमरेड, त्यो अनतरवार्तामा यो पनि भनिएको छ “उहाँले (मोहन विक्रम सिंह) भन्नु भएको थियो, हामीले आफ्ना विभिन्न कामहरूमा सेनाका मान्छे, प्रहरी, सी.आई.डी., डाका, तस्कर आदिलाई पनि उपयोग गर्न सक्दछौं । उहाँले बताउनु भएको थियो, आफ्नो भूमिगत रूपले विदेशको भ्रमण गर्दा, भूमिगत कामहरूका सिलसिलामा उहाँले कैयौं त्यस्ता मानिसहरूलाई उपयोग गर्नु भएको थियो ।” यो कुराले वताउदछ वास्तवमा नेकपा(मसाल) भित्र महामन्त्री मोहन बिक्रम सिंहले नै विविध खालका अपराधिक मान्छेहरुसङ्ग सङ्गत गर्दछ । के आज ‘रअ’ को प्रशङ्ग पनि त्यही आधारमा आएको त होइन? यो गम्भीर शंकाको विषय हो ।

विभिन्न कामका सिलसिलामा, डाका-तस्करसम्मलाई उपयोग गर्ने महामन्त्रीको नीति र कार्यशैली के क्रान्तिकारी कार्यशैली हो ? निश्चित रुपमा होइन । त्यो मात्र होइन महामन्त्री ज्यु, अहिले पार्टीको आठौं महाधिवेशनमा आइपुग्दा पार्टीलाई ‘रअ’ ले फुटाउन खोजेको जुन अप्रमाणित तपाइको भनाइ छ, त्यसमा अब स्वयम् तपाईं माथी नै गम्भीर आशङ्का पैदा भएको छ । यदि तपाइको त्यसरी डाइरेक्ट कनेक्सन नभए पनि जसरी त्यो नेपाल सरकारको सिआडीसङ्ग कनेक्सन थियो, ठिक त्यसै गरि तपाइको कनेक्सन हुन सक्ने सम्भावनालाई पुरै अस्विकार गर्न सकिन्न ।

महामन्त्री कमरेड, हामीले पार्टीमा काम गर्दा तपाइलाई विश्व कम्युनिस्ट आन्दोलनको एउटा उर्जावान नेता भनेर मानिन्थ्यो । अब त्यो मेरो विश्वास पुरै टुटेको छ । तपाइको अभिव्यक्तीले मात्र होइन, पछिल्लो चरणमा तपाइले एउटा परिवारवादप्रती देखाएको भक्तिभाव, क्रान्तिकारी नेता/कार्यकर्ताको कत्लेआम गर्ने कार्य, विचारमा दक्षिणपन्थी कार्यदिशाले अब तपाईं कम्युनिस्ट राजनितिमा एक्स्पाएर भएको प्रष्ट हुन्छ ।त्यो सङ्गै डाका देखि तस्करसम्म र सिआडि देखि दलालसम्म, पार्टी सहयोग उठाउने नाममा अवैधानिक मानव वेचविखनमा समेत तपाइको सङलग्नताले तपाईं कम्युनिस्ट पार्टी नेता हुन नसक्ने पनि स्पष्ट छ ।

महामन्त्री ज्यु, तपाइको निर्देशनमा(सल्लाहमा) तपाइको वैधानिक मोर्चाको उपाध्यक्ष (पार्टी सिसिएम) र तपाइको जीवन साथीले स्विकार गरे अनुरुप ६६ लाख रुपैयाँ मध्ये ४६ लाख रुपैयाँ पैसा तिरेको वताइएको छ । यदि त्यो पैसा ठगी नगरेको भए त्यसरी किन तिर्नुपर्दथ्यो ? एउटा सर्वाहारा वर्गको पार्टीको महामन्त्रीले त्यसरी ठगी कार्यमा सङलग्नताको लागि पार्टी सिसिएमलाई स्वीकृति दिनु कुन प्रकारको क्रान्तिकारी सिद्धान्त हो ? यसको जवाफ छ महामन्त्री कमरेड ।

पार्टीलाई आर्थिक सहयोग आउने नाममा मान्छेहरुलाई अमेरिका पठाउने काममा एउटा कम्युनिस्ट पार्टीको महामन्त्रीले पार्टी सिसिएमलाई त्यो प्रकारको अवैधानिक मानव वेचविखनमा स्वीकृति प्रदान गर्दछ भने त्यो भन्दा झुट र वेइमानी अरु के हुन्छ ? अवैधानिक हिसाबले मान्छेहरु वेचेर पार्टीलाई सहयोग जुटाएर आजसम्म कुन मुलुकमा क्रान्ती सम्पन्न भएको छ महामन्त्री कमरेड? कुनै उदाहरण छ ?

कमरेड महामन्त्री, मैले यस बारेमा थप लेख्दै जानेछु, तपाइको मात्र होइन तपाइका वरिष्ठ नेताहरुले कहाँसम्म जनघाती काम गरेका छन, त्यसका प्रमाणहरु सहित लेख्दै जानेछु । अन्तमा, कि तपाइले ‘रअ’ ले पार्टी फुटाउन सक्छ भनेर लगाएको आरोपको प्रमाणहरु पेश गर्नुपर्दछ कि तपाइ नै यो वा त्यो प्रकारले ‘रअ’ सङ्गको कनेक्सनमा हुनुहुन्छ । यसको सार्वजनिक जवाफको प्रतीक्षा सहित यो चिठी बन्द गर्ने अनुमती माग्दछु ।
धन्यवाद ।

उहीँ तपाइको पार्टीको पुर्व कार्यकर्ता सुप्रीया ।
२०७५ फागुन २१ ।

 

मङ्ल, फाल्गुन २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस