जनताको सेयर खुल्यो प्रधानमन्त्री र उर्जामन्त्रीले शेयर किन्दै, आजबाट सबैलाई बिक्री खुल्ला हुदै

काठमाडाैँ ।सरकारले ल्याएको ‘जनताको जलविद्युत’ कार्यक्रमअन्तरगत पहिलोपटक आजबाट शेयर बिक्री खुला हुँदै छ ।

गत फागुन २ गते जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । त्यस क्रममा यस परियोजना अन्तरगत पहिलो शेयर चैतमै आउने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो शेयर आफूले किन्ने वाचा गर्नुभएको थियो । सोही अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेयरका लागि पहिलो आवेदन हुन लागेको स्रोतले जनाएको छ ।

आजबाट बिक्री खुला भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको शेयरका लागि प्रधानमन्त्री ओलीले रु १० हजार बराबरको शेयर खरिद आवेदन दिन लागेको बताइएको छ । उहाँले ग्लोबल आईएमई क्यापिटलमार्फत शेयरका लागि अनलाइन आवेदन भर्ने जनाइएको छ । यसैगरी ऊर्जामन्त्री वर्षमान पुनले पनि सो आयोजनाको शेयरका लागि आजै पहिलो चरणमा आवेदन दिने बताइएको छ ।

प्रधानमन्त्री र ऊर्जामन्त्री दुवैले आज बिहीबार बिहान करिब १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने स्रोतको दाबी छ । प्रधानमन्त्रीले १०० कित्ता शेयरका लागि आवेदन गर्ने जनाइएको छ, जसको मूल्य १० हजार रुपैयाँ हुन आउँछ ।

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको जनताको जलविद्युत कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य छ ।

This image has an empty alt attribute; its file name is Janatako-lagani-Programme-768×499.png
त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ । मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि यसअघि नै पारित गरिसकेको छ ।

कार्यविधिअनुसार यस कार्यक्रम अन्तर्गतका हरेक आयोजनामा ५१ प्रतिशत सरकारकाे तथा ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहनेछ । सर्वसाधारण समूहमा पनि १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मात्र किन्न पाउने व्यवस्था गरिएकाे छ ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस